दुई अर्ब खर्चेर कमलादीमा ‘स्काई वाक टावर’ बन्ने |
काठमाडौं । काठमाडौंको कमलादीमा ‘स्काई वाक भ्यू टावर’ बन्ने भएको छ । शनिबार आयोजित एक कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतले टावरको शिलान्यास गरेका हुन् ।
वन्डरर्स नेपाल प्रालिले निर्माण गर्न लागेको उक्त टावरको लागत दुई अर्ब रहेको प्रालिका प्रोजेक्ट म्यानेजमेन्ट डाइरेक्टर सन्जिव रोकाहले जानकारी दिए ।
१३.२ रोपनी जग्गामा बन्ने ७८ मिटर उचाइको उक्त टावर २८ वर्षको लागि भाडामा लिएको कम्पनीले जनाएको छ । उक्त स्काई टावरको लिफ्ट चढेपछि ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र लिफ्ट रोकिन्छ । त्यहाँ ८∕१० ओटा कोठा, मिटिङ हल हुने कम्पनीले जनाएको छ ।
त्यसको माथि एक सय जना अट्ने रेष्टुरेन्ट हुनेछ भने सबभन्दा टपमा स्काई वाक हुनेछ । उक्त टावर चढ्नको लागि सर्वसाधारणले निश्चित रकम तिर्नुपर्ने हुन्छ । १८ महिनामा काम सक्ने कम्पनीले जनाएको छ ।
उक्त स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ ।
स्काई वाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ ।