काम अलपत्र पार्ने ठेकदारलाई कारबाही हुन्छ ː मन्त्री नेम्वाङ |
बुटवल । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले समयमा काम नसकेर योजना अलपत्र पार्ने ठेकदारलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले लापरबाही गर्ने, अलपत्र पार्ने, तोकिएको समयमा काम नसक्ने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।
भ्रमणवर्ष २०२० शुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडक सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीर रुपमा लिएको उनको भनाइ छ ।यो सडकका २ वटा पुलको ठेक्का तोेडेर भए पनि काम अगाडि बढाउने उनले बताए । डिसेम्बरको अन्तिमसम्म लुम्बिनी पुग्ने सडक एकतर्फी भए पनि कालोपत्रे हुने मन्त्री नेम्वाङको दाबी छ ।
लुम्बिनी सर्किटसहतिको रुपन्देहीका ४१ किलोमिटर सडक र पुलहरु फाष्ट ट्रयाकको माध्यमबाट सम्पन्न गर्न मन्त्री नेम्वाङले निर्देशन दिए ।
यस्तै मन्त्री नेम्वाङले रुपन्देहीमा निर्माणाधीन ३५ वटा पुल यसै वर्ष निर्माण सम्पन्न हुने दाबी गरे । सिद्धबाबा क्षेत्रमा सुरुङ बनाउन डीपीआर निर्माण सम्पन्न गरिसकेको र अबको एक महिनाभित्र टेन्डर खुलाउने तयारी भइरहेको उनले जानकारी दिए ।
मन्त्री नेम्वाङले शनिवार बुटवलका बिभिन्न सडक आयोजनाहरुको स्थलगत अनुगमन गरेका थिए । उनले कन्चन नदिको भैरवघाट पुलको उदघाटन गरे ।