’ब्ल्याक विडो’ अमेरिकाभन्दा पहिले भारतमा रिलिज हुने |
हलिउड अभिनेत्री स्कारलेट जोहान्सनको नयाँ फिल्म ’ब्ल्याक विडो’ अमेरिकाभन्दा पहिले भारतमा रिलिज हुने भएको छ । ’एभेन्जर्स’बाट चर्चित पात्र ब्ल्याक विडोको कथामा आधारित फिल्म आगामी अप्रिल ३० मा भारतमा रिलिज हुने भएको हो । फिल्म अंग्रेजी, हिन्दी, तमिल, तेलेगु, मलयम र कन्नड गरी ६ भाषामा रिलिज हुँदैछ ।
डिज्ने भारत, स्टुडियो इन्टरटेनमेन्टका प्रमुख बिक्रम दुग्गलले केही वर्षयता मार्भल फिल्मले भारतकीय मनोरञ्जन क्षेत्रमा कायापलट गरेको बताएका छन् ।
’चाहे आइरन म्यान होस्, क्याप्टेन अमेरिका, थोर वा हल्क, सबैले यहाँका दर्शक तानेका छन् । अझ नयाँ सुपरहिरो ब्ल्याक प्यान्थर, डक्टर स्ट्रेन्ज र क्याप्टेन मार्भल समेत लोकप्रिय छन्,’ उनले भने, ’झन् ब्ल्याक विडो त भारतमा धेरै चर्चित छ । नताशा रोमानोफ जासुस, व्यवसायिक हत्यारा र एभेन्जर भइसकेकी छन् । र, पनि उनको पात्र रहस्यमयी छ । फ्यानहरू उनको कथा जान्न चाहन्छन् । उनको मात्र कथा आएको छैन । भारतीय फ्यानले अमेरिकाभन्दा पहिल्यै उनको कथा थाहा पाउनेछन् । यो हाम्रो लागि खुसीको कुरा हो ।’
’ब्ल्याक विडो’मा नताशा रोमानोफको विगतबारे देखाइएको छ । यो फिल्म ’एभेन्जर्सः एन्डगेम’पछि मार्भलको नयाँ काम हो । ’आइरन म्यान’ अर्थात् रोबर्ट डाउनी जुनियर र अरू सुपरहिरो पनि ’ब्ल्याक विडो’मा देखिने बताइएको छ ।