असार मसान्तसम्म प्रत्यक बैंकले ५ सयलाई सहुलियत कर्जा दिनैपर्ने |
काठमाडौं । असार मसान्तसम्म एउटा वाणिज्य बैंकले ५ सय वटा सहुलियत कर्जा दिनैपर्ने भएको छ । बैंकहरुले सहुलियतपूर्ण कर्जा दिन आनाकानी गरेपछि राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।
वाणिज्य बैंकहरुलाई मात्रै नभई ख वर्गका विकास बैंकलाई पनि सहुलियत कर्जा अनिवार्य गरिएको छ । एउटा विकास बैंकले असार मसान्तसम्म २ सय वटा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्नेछ । सोही अवधिसम्म एउटा फाइनान्स कम्पनीले १ सय वटा यस्ता कर्जा दिनुपर्ने छ ।
सरकारले विभिन्न सात शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशिल कर्जा, दलित समुदाय व्यवसाय विकास परियोजना, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा, कृषि तथा पशुपन्छी कर्जा योजना जारी भएका छन् ।
व्यवसायिक कृषिका लागि पाँच करोड रुपैयाँसम्म, स्वरोजगार कर्जा ७ लाखसम्म, वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै उद्यम गर्न चाहनेलाई १० लाखसम्म, महिला उद्यमशीलता कर्जा १५ लाख रुपैयाँसम्म, दलित समूदायका लागि १० लाखसम्म, व्यवसायिक तथा प्राविधिक शिक्षाका लागि पाँच लाख रुपैयाँसम्म सहुलियत कर्जा दिन सकिने छ ।
यीमध्ये महिला उद्यमशील कर्जामा ६ प्रतिशत तथा अन्यमा ५ प्रतिशत व्याज अनुदान प्राप्त गर्न सकिन्छ । जुनसुकै व्यवसाय गर्न चाहनेले आफ्नो नजिक रहेको कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुमार्फत सहुलियत व्याजदरको ऋण प्राप्त गर्न सक्नेछन् ।
के के व्यवसायका लागि पाइन्छ ऋण ?
खाजा, चिया पसल संचालन गर्न, कृषि उत्पादनको प्रशोधन कार्य गर्न, सुनचाँदी, फलाम तथा गरगहनाको व्यवसाय गर्न यस्तो ऋण पाइन्छ । टेम्पो, ट्याक्सी, बस संचालन गर्न यस्तो ऋण पाइन्छ ।
इलेक्ट्रोनिक्स सामान मर्मत केन्द्र, कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर सम्वन्धी व्यवसाय गर्न, साइबर संचालन गर्न यस्तो ऋण परिचालन गर्न सकिन्छ ।
तिबाहेक सबै कृषि कामका लागि ऋण पाइन्छ। धान, गहुँ, मकै, कोदो, जौँ, तोरी, सरस्युँ, केराउ, चना, भटमास लगायत अन्नबाली उत्पादन तथा प्रशोधनका लागि यस्तो ऋण लिन सकिन्छ । त्यस्तै चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले यो ऋण लिन पाउँछन् ।
लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेंडा, खुर्सानी, पिडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि यो ऋण पाइन्छ ।
आँप, सुन्तला, स्याउ, अनार, अम्बा, कागती, केरा, लप्सी, लिची, मेवाजस्ता फलफूल खेतीका लागि यो ऋण लिन सकिन्छ। यीबाहेक गाई, गोरु, भैंसी, बाख्रा, कुखुरा, मौरीपालनका लागि ऋण लिन सकिन्छ । मत्स्यपालन, बंगुरपालन, रेशमकिरा पालनको लागि ऋण लगानी गर्न सकिन्छ। तपाईले गर्ने व्यवसायका लागि चाहिने कृषि यन्त्रहरु, औषधि तथा दानापानीका लागि यो रकम खर्चिन सकिन्छ ।
कसरी लिने ऋण ?
वाणिज्य बैंकहरुको कुनै पनि शाखामा गई वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाको आवेदन भर्न सकिन्छ । बैंकमै फारम पाइन्छ । त्यस्तै अर्को परियोजनाको प्रस्ताव भर्नुपर्छ ।
परियोजनाको प्रस्ताव बैंकले उपलव्ध गराएको ढाँचामै भर्नुपर्छ। जुन व्यवसाय गर्ने हो त्यो फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी हुनुपर्छ । आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपी हुनुपर्छ ।
त्यस्तै विदेशबाट फर्केकाहरुका लागि राहदानीको प्रतिलिपी, प्रवेशाज्ञाको प्रतिलिपी, ऋणी र जमानतदाताको नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी, परिवारका सदस्यको नागरिकता प्रमाणपत्र प्रतिलिपी आवश्यक पर्दछ। त्यस्तै निवेदक विदेशमा गई कम्तीमा ६ महिना सम्वन्धित तालिम वा पेशा गरेको खुल्ने कागजातको प्रतिलिपी चाहिन्छ ।
ऋण नपाए राष्ट्र बैंकमा उजुरी गर्नुहोस्
सहुलियत व्याजदरको ऋण लिनका लागि आफूले प्रक्रिया पुर्याउँदा पुर्याउँदै पनि चाहेको बैंकको कुनै शाखाले दिन नमानेमा तपाईले सिधै राष्ट्र बैंकमा उजुरी गर्न सक्नुहुन्छ ।
राष्ट्र बैंकको नजिकको क्षेत्रीय कार्यालय वा प्रधान कार्यालयमा सीधै फोन गरी वा इमेलमार्फत उजुरी गर्न सकिने प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । [email protected] मा इमेल गरी वा फोन नं. ०१– ४४११४०७ मा गुनासो गर्न सकिनेछ ।