अँझै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी |
काठमाडौं । सरकारले झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमतिपत्र गत महिनाभन्दा बढेका हुन् ।
गत कात्तिक मसान्तसम्ममा झण्डै सात लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेको यातायात व्यवस्था विभागले बताएको छ ।
अहिले विभागमा पुराना ‘प्रिन्टर’बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए ।
उनकाअनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमतिपत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् ।
‘‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्षजनशक्ति नहुँदा अहिले यहाँ कार्यरत जनशक्तिलाई तालीम दिइरहेको छ’ उनले भने । ‘मास प्रिन्टर’ खरीद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको सूचना अधिकारी खनालले जानकारी दिए ।
उनले भने, ‘तालीम सकिएर मास प्रिन्टरले पूरै काम गर्न थालेपछि समस्या सकिनेछ ।’ चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नविकरणका लागि आवेदन दिएकाको सङ्ख्या झण्डै आठ लाख पुगेको हो ।
यो सङ्ख्या अघिल्लो तीनरचार वर्षदेखि नै बढिरहेको छ । ‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिलेको चालक अनुमतिपत्र छपाइ तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो ।