अमेरिकामा नीर शाह र अनमोल केसीसहित श्रष्टाहरु सम्मानित |

अमेरिका । वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह ‘चलचित्र शिरोमणि लाइफटाइम अवार्ड २०१९’ बाट सम्मानित भएका छन् । अमेरिकाको सान् फ्रान्सिस्कोमा आयोजित ‘चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ मा शाहलाई यो सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, लोकनायक भुवन केसी युग नायक राजेश हमाल दशक नायक सम्मानबाट सम्मानित भए । सोही अवसरमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले संगीत महारथी सम्मान प्राप्त गरे ।
ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभिमेकर्सको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सहआयोजना गरेको कार्यक्रममा अमेरिकामा रहेका र नेपालबाट पुगेका गरेर १०० भन्दा बढी कलाकार सम्मानित भएका थिए ।
‘नेपाली चलचित्र गाउँदेखी विश्वसम्म’ भन्ने रहेको कार्यक्रममा गेहेन्द्र धिमाल स्मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे, रामकेशर बोगटी स्मृति सम्मानबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, फिल्म अफ दि इयरबाट छक्का पन्जा–३ र डिरेक्टर अफ दि इयर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मनित भए ।
कार्यक्रममा स्टार अफ दि इयर आवर्ड अभिनेता अनमोल केसीले हात पार्दा अभिनेत्री नम्रता श्रेष्ठ स्टार अफ दि इयर अभिनेत्री घोषित भइन् । कार्यक्रमा गायिका अन्जु पन्तको हातमा बर्षकै उत्कृष्ट गायिका अवार्ड पर्यो ।
अभिनेत्री श्वेता खड्का, पूजा चन्द, वर्षा राउत, केकी अधिकारी, दीपिका प्रसाई लगायत स्थानीय कलाकारको समेत सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा कलाकार शैलेन्द्र सिंखडाले कमेडी प्रस्तुत गरेका थिए ।
ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले एकसाथ नेपाली फिल्मका तीन हस्ती नायक शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाललाई स्टेजमा उतार्न सफल भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले अवार्डको औचित्यबारे प्रष्ट पारेका थिए ।