चार महिनामा निर्यात २४ प्रतिशतले बढ्यो, आयात ७ प्रतिशतले घट्यो |
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात ६.९२ प्रतिशतले घटेको छ । त्यसैगरी, निर्यात २३.९० प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङक अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो। गत वर्षको सोही अवधीमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको आयात गरेको थियो ।
यस्तै, पहिलो चार महिनामा नेपालमा ३६ अर्ब २७ करोडको नेपाली उत्पादन निर्यात भएको छ। गत वर्षको सोही अवधिमा नेपालबाट २९ अर्ब २८ करोड रुपैयाँको सामान निर्यात भएको थियो ।
चार महिनामा नेपालको व्यापार घाटा ८.९ प्रतिशतले घटेको छ । गत वर्ष ४ खर्ब ५४ अर्बको व्यापार घाटा रहेकोमा यो वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्बमा झरेको हो ।
नेपालको वैदेशिक व्यापार पनि ५.१६ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा कात्तिक महिनासम्ममा वैदेशिक व्यापार ४ खर्ब ८६ अर्बको भएको छ ।
गत वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब १३ अर्बको भएको थियो। भारतबाट मात्रै २ खर्ब ७२ अर्बको आयात भएको छ भने नेपालबाट भारततर्फ २४ अर्ब २६ करोड रुपैयाँको सामान निर्यात भएको छ।
यस्तै, चीनबाट ८० अर्ब १८ करोड रुपैयाँ बराबरको सामान आयात हुँदा ७१ करोड रुपैयाँको सामान चीनमा निर्यात भएको छ।