सुनसरीमा शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किए, ७ सात जनाको मृत्यु |
विराटनगर । विराटनगरबाट शव बोकेर उदयपुरतर्फ गइरहेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी शिवमाया राईको शव बोकेर उदयपुर जाँदै गरेको ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै सात जनाको ज्यान गएको बताए । दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई छन् । त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।
मृतकमध्ये ६ जना आफन्त हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन ।