जीवनशैली र खानपानका कारण मुटु रोगको जोखिम बढ्दो ː डा. रजनिस कपुर | गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३℅ ले बढी

काठमाडौं । अब्यवस्थित जीवनशैली र खानपानका कारण मुटु रोगको जोखिम बढ्दै गइरहेको छ । यस्तो जीवनशैली छोड्नु पर्ने भारतका वरिष्ठ चिकित्सक डा. रजनिस कपुरको सुझाव छ । विश्वमै मानव जीवनशैलीमा आएको परिवर्तनका कारण र मानिसले उपभोग गर्ने सुविधाले गर्दा हृदयरोगको खतरा बढेको उनको भनाई छ । डा. कपुर भारतको हरियाणा राज्यको गुरुग्रामस्थित मेदान्त हस्पिटलमा इण्टरभेन्सनल कार्डियोलोजी विभागका उपाध्यक्ष रहेका छन् ।
गर्मीको तुलनामा जाडोमा हृदयघातको जोखिम बढी हुन्छ । बिशेषज्ञका अनुसार गर्मीको तुलनामा जाडोमा हृदयघातको सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिसको मृत्युको कारण हृदयघात हो । जाडो मौसम हृदयघातको जोखिमपूर्ण मौसम मानिन्छ । जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ ।
चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन ‘डि’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
कस्ता व्यक्तीलाई हृदयघातको जोखिमा बढी
उच्च रक्तचाप हुने र धुम्रपान सेवन गर्नेहरु हृदयघातको जोखिमा बढी हुन्छन् । धुम्रपानमा हुने निकोटिनले नशा खुम्च्याउँने भएकाले हृदयाघातको जोखिममा रहेका मानिसले चुरोट सेवन गर्नु हुँदैंन । पछिल्लो समय नेपालमा हृदयघात बढेको मात्र छैन युवाअवस्था मै देखिन थालेको चिकित्सक बताँउछन् ।
हृदयाघातका लक्षण
हृदयाघात अकस्मात हुने भएकाले त्यसका लक्षणका बारेमा चनाखो हुनुपर्छ । छातीको बायातिर दुख्नु, छाती भारी हुने र दुखिराखेमा अस्पताल पुग्नुपर्छ । छाती दुख्नेसंगै पसिना आउँने, रिंगटा लागेमा हृदयाघात हुनसक्ने सम्भावनाको लक्षण हुन सक्छ । नेपालको कुल मृत्युको १८ प्रतिशत मृत्यु मुटु र रक्तनली रोगबाट हुने गरेको तथ्यांकले देखाएको भन्दै डा. कपुरले जीवनशैली परिवर्तन र सन्तुलित भोजन गरे ८० प्रतिशतलाई जोगाउन सकिने बताएका छन् ।