नेपालको ऊर्जा क्षेत्रमा थप लगानीका लागि सहजीकरण गर्छौ |
काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि थप लगानी जरुरी रहेकाले आफूहरुले त्यसतर्फ लागिपरेको सरोकारवाला निकायका प्रतिनिधिहरुले जोड दिएका छन् ।
संम्भाव्य लगानीको स्रोत पहिचानका लागि सरकारी, निजी क्षेत्रले सहकार्य गर्दै आन्तरिक तथा बाह्य लगानीलाई विशेष चासोका साथ अगाडि बढाउनुपर्ने उनीहरुको जोड थियो । सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा त्यसका लागि पनि ठूलो लगानी जरुरी भएकाले आन्तरिक लगानीले मात्रै लक्ष्य पूरा हुन नसक्ने उनीहरुको भनाइ थियो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले आयोजना गरेको पावर समिट, २०१९ को अवसरमा आज आयोजित लगानीको आकर्षण विषयक अन्तरसम्वादमा नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीबि नेपालले स्वदेशी तथा विदेशी लगानीका लागि आफूहरुले सहजीकरण गरिरहेको बताए । उनले केन्द्रीय बैंकका तर्फबाट लगानीकर्तालाई दिनुपर्ने सुविधा र निर्वाह गर्नुपर्ने भूमिका इमान्दार भएर निभाइरहेको र आवश्यक सहयोग उपलब्ध गराएको उल्लेख गरे ।
विश्व बैंकका देशीय निर्देशक फरिस एच हदाद जर्भोस नेपालको ऊर्जा क्षेत्रमा आफूहरुले लगानीको मात्रा बढाएको र त्यसले सकारात्मक परिणाम दिनेमा आशावादी रहेको बताए । वैकल्पिक ऊर्जाको क्षेत्रमा समेत आफूहरुको उत्तिकै चासो रहेको भन्दै उनले नेपालले पछिल्ला दिनमा गरेको प्रगतिबाट आफू असाध्यै उत्साहित भएको उल्लेख गरे ।
विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) ले माथिल्लो त्रिशुली एक (२१६ मेगावाट)मा लगानी गरेको उदाहरण पेश गर्दै जर्भोसले अन्य केही ठूला आयोजनामा समेत साझेदारी गर्न तयार रहेको जानकारी दिए ।
डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी टिम गोचरले सौर्य ऊर्जाको क्षेत्रमा लगानी विस्तारका लागि आफूहरु प्रयासरत रहेको बताए । सुख्खा समयको माग धान्नका लागि पनि सौर्य ऊर्जा महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो । सिसिके पावरका उपाध्यक्ष छु हुईले नेपाल सरकारले गरेको नीतिगत तथा कानूनी सुधारले आफूहरु उत्साहित भएको र थप लगानी भित्र्याउन इच्छुक रहेको जानकारी दिए । वैदेशिक लगानी भित्र्याउन डलरमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) र हेजिङ फण्डको व्यवस्थाले समेत थप सहज भएको उल्लेख गरे ।
बङ्गलादेशको युनाइटेड पावरका प्रबन्ध निर्देशक एमएच रसिदले नेपाल र बङ्गलादेशको एक अर्काको अनुभवबाट सिकेर अगाडि बढ्न सकिने उल्लेख गरे । उनले आफ्नो सरकारले ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको र सोही अनुसारको नीतिगत एवम् व्यवहारिक वातावरण तयार पारेकाले त्यसबाट आफूहरुलाई काम गर्न थप सहज भएको बताए ।