अल्पविकसित मुलुकलाई दाताहरूले प्रतिबद्धताअनुरूप सहयोग गरेनन् ː राष्ट्रसंघ |
काठमाडौं । दाताहरूले अल्पविकसित मुलुकहरूलाई प्रतिबद्धताअनुरूप सहयोग नगरेको व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड)को अध्ययनले देखाएको छ । दाता राष्ट्रको सूचीमा रहेका विकसित मुलुकहरूले अल्पविकसित मुलुकलाई आफ्नो कुल राष्ट्रिय आय (जीएनआई)को शून्य दशमलव १५ देखि शून्य दशमलव २० प्रतिशतसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, उनीहरूले प्रतिबद्धताको करिब आधा अर्थात् कुल राष्ट्रिय आयको शून्य दशमलव ०९ प्रतिशत मात्रै सहयोग गरेकोे अल्पविकसित मुलुकहरूसम्बन्धी प्रतिवेदन २०१९ ले उल्लेख गरेको छ ।
विकास सहायता समिति (डीएसी)का सदस्य रहेका विकसित मुलुकहरूले आफ्नो जिएनआईको ० दशमलव १५ देखि ० दशमलव २० प्रतिशतसम्म सहयोग गर्ने प्रतिबद्धता सन् १९८१ मै गरेका थिए । सो प्रतिबद्धतालाई ती मुलुकहरूले सन् २०१५ पनि दोहोर्याएिका छन्, जुन दिगो विकास लक्ष्य (एसडिसिज)को १७ दशमलव २ नम्बर बुँदामा उल्लेख छ । तर, उनीहरूले त्यो वाचा कहिल्यै पूरा नगरेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘उनीहरूले त्यो वाचा पूरा गरेको भए अल्पविकसित मुलुकहरूले सन् २०१७ मा मात्रै थप ६४ खर्ब रुपैयाँसम्म प्राप्त गर्ने थिए,’ प्रतिवेदनले उल्लेख गरेको छ । सो वर्ष अल्पविकसित मसलुकहरूले जम्मा ६० खर्ब रुपैयाँ सहयोग प्राप्त गरेका थिए ।
विकसित मुलुकहरूले अल्पविकसित मुलुकहरूलाई दिने सहयोगमा पनि भारी कटौती गरिरहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । सन् २००० देखि २०१० सम्ममा अल्पविकसित मुलुकहरूमा विकास सहायताको वृद्धिदर ७ प्रतिशतमा रहेकोमा २०११ देखि हालसम्म जम्मा २ प्रतिशत मात्रै छ ।
अल्पविकसित देशहरूमा स्रोतको अभाव गहिरिँदै गए पनि विकास सहायतामा कमी आएको पनि प्रतिवेदनले उल्लेख गरेको छ । ‘त्यसले गर्दा अतिकम विकसित राष्ट्रहरू बढी महँगो र जोखिमयुक्त वित्तीय स्रोतहरूमा निर्भर हुनुपरेको छ,’ प्रतिवेदनले उल्लेख गरेको छ । अतिकम विकसित देशहरूको वैदेशिक ऋण २००७ मा १ खर्ब ४६ अर्ब अमेरिकी डलर रहेकोमा २०१७ मा ३ खर्ब १३ अर्ब पुगेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।