कान्छा सीईओको उत्कृष्ट छलाङ, भन्छन्ː एनआईसी एशियाको लक्ष्य नै नं. १ बन्ने हो |

काठमाडौं । पछिल्लो २ वर्षदेखि आक्रामक रूपमा बजार विस्तार गर्दै आएको एनआईसी एशिया बैंकले पछिल्लो समय चामत्कारिक योजना ल्याएर चमत्कार नै देखाएको छ । यसअघि नेपालमा सञ्चालित २९ वाणिज्य बैंकहरूमध्ये नाफाको हिसाबले प्रायः चौथो या पाँचौं स्थानमा रहने यस बैंकले चालू आ.व. २०७६∕७७ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै चमत्कार देखाएको हो ।
सो वित्तीय विवरणअनुसार बैंकले छलाङ मार्दै आफूसँगै प्रतिस्पर्धामा दौडिइरहेका केही वाणिज्य बैंकहरूलाई उछिनेर नाफाको हिसाबले पहिलो र दोस्रो नम्बरमा रहेका राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको समेत धेरै नजिक पुग्न सफल भएको तथ्यांक सार्वजनिक गरेको छ । नाफाको हिसाबले यी दुई बैंक अगाडि रहे पनि निक्षेप संकलन र कर्जा प्रवाहतिर आँखा लगाउने हो भने एनआईसी एशिया बैंकले नबिल बैंकलाई निकै पछाडि छोडेको देखिन्छ ।
नाफाको हिसाबले हेर्दा हाल एनआईसी एशिया बैंकले राष्ट्रिय वाणिज्य बैंकलाई भेट्टाउन साढे १२ करोड नाफा बढाए पुग्छ भने नबिललाई भेट्टाउन पनि मात्र ११ करोड नाफा कमाए पुग्ने देखिन्छ । तर, कर्जा प्रवाह र निक्षेप संकलनमा भने एनआईसी एशिया बैंक निजीक्षेत्रबाट सञ्चालित वाणिज्य बैंकमध्ये पहिलो नम्बरमा देखिन्छ ।
उता शाखा सञ्जालको हिसाबमा हेर्ने हो भने पनि एनआईसी एशिया बैंक पहिलो नम्बरमै देखिन्छ । यस बैंकले हाल मुलुकभर ३ सय १० वटा शाखा कार्यालय विस्तार गरिसकेको छ ।
एनआईसी एशियाकाे चालू आवको पहिलो त्रैमासको सूचक
एनआईसी एशिया बैंकले चालू आ.व. २०७६∕७७ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार वार्षिक विन्दुगत आधारमा ३५ प्रतिशत (रू.३७ करोड) ले वृद्धि गरी रू. १ अर्ब ४३ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३४ प्रतिशत (रू. २६ करोड) को वृद्धिसहित रू. १ अर्ब १ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गतवर्षको सोही अवधिको खुदमुनाफा रू. ७५ करोड रहेको थियो ।
त्यस्तै, एनआईसी एशिया बैंकले चालू आवको कर्जातर्फ यस आर्थिक वर्षको प्रथम त्रैमासमा रू. १३ अर्बको वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रू. २४ अर्ब को वृद्धि गरी रू. १६३ अर्ब निक्षेप संकलनतर्फ यस आर्थिक वर्षको प्रथम त्रैमासमा रू. ४ अर्बको वृद्धि तथा वार्षिक विन्दुगत आधारमा रू. १७ अर्ब को वृद्धि गरी रू. १८५ अर्ब पु¥याउन सफल भएको छ । यसरी निक्षेप, कर्जा तथा अन्य वित्तीय परिसूचकहरूमा यस बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय ११ प्रतिशतले वृद्धि गरी रू. ४०.३८ तथा स्वपूँजीमा प्रतिफल १८ प्रतिशतले वृद्धि गरी २७.०५ प्रतिशत पुर्याउन सफल भएको छ ।
के हो यस बैंकको प्रगतिको मुख्य राज
एनआईसी एशिया बैंकले यसरी छलाङ मार्दै अघि बढ्नुमा मुख्य श्रेय नेपालको बैंकिङ क्षेत्रमै कान्छा सीईओ भनेर परिचित रोशनकुमार न्यापानेलाई नै जान्छ । न्यौपानेको बैंकिङ क्षेत्रमा सँगालेको लामो अनुभव र शुरुदेखि नै एउटै बैंकमा रहेर मुख्यमुख्य जिम्मेवारी सम्हाल्दै बसेकाले पनि बैंकका कमी कमजोरीहरू केलाउँदै त्यसलाई सच्याउँदै अघि बढाउन उनी सफल देखिन्छन् । उनले बनाएको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिकाकै कारण बैंक पहिलो नम्बरमा पुग्ने दौडमा धेरै अगाडि बढिसकेको छ ।
तत्कालीन बैंक अफ एशियाबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेर बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका सीईओ न्यौपानेले हाल यस बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन् । तर पनि उक्त जिम्मेवारी सम्हालेको छोटो समय अर्थात् करिब १ वर्षमै बैंकलाई यो सफलतामा पुर्याउनुमा अनुभवी सीईओ न्यौपानेको ठूलो योगदान रहेको बैंकका कर्मचारीहरूबीचमा चर्चा चल्ने गरेको छ ।
के भन्छन् सीईओ न्यौपाने ?
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत न्यौपाने बैंकले पाएको यो सफलतालाई अत्यन्तै गौरव लागेको र आफूले आफ्नो जिम्मेवारी कुशलतापूर्व वहन गर्नमा कुनै कन्जुस्याइँ नगरेकाले नै यो सफलता मिलेको बताउँछन् ।
रसुवामा जन्मिएर हाल काठमाडौंमा बस्दै आएका सीईओ न्यौपाने भन्छन्, ‘जिम्मेवारीको शपथ लिँदा बैंकको लक्ष्यलाई मूर्त रूप दिन जुन प्रतिवद्धता जनाएको थिएँ, आज त्यसैको प्रतिफलस्वरुप यो अवस्थामा बैंक आइपुगेको छ ।’
बैंकको मूल नारा ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ का साथ आफ्ना ग्राहकहरूमाझ सवल, गतिशील, उत्तरदायी र विश्वसनीय बन्न सफल भएकै कारण यो सफलता मिलेको उनको भनाइ थियो ।
सीईओ न्यौपाने थप्छन्, ‘अबको हाम्रो लक्ष्य भनेकै नेपालकै नम्बर १ वाणिज्य बैंक बन्ने हो । र, यो लक्ष्य पनि हामी अर्को आर्थिक वर्षसम्ममा हासिल गरेरै छोड्छौं ।’
प्रतिस्पर्धामा चार बैंक ː कुन बैंक कुन क्षेत्रमा पहिलो ? हेर्नुहोस्
