युनिभर्सल कलेजका विद्यार्थीले गरे रिले अनसन शुरु |
बुटवल । कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै विगत १६ दिनदेखि आन्दोलनमा रहेका रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका विद्यार्थीले आजबाट रिले अनसन शुरु गरेका छन् ।
बीडीएस र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि गत सोमबार कलेज प्रशासन, लेखा, प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक कक्षलगायतमा तालाबन्दी गरेका थिए । विद्यार्थीले प्रशासनलाई ज्ञापनपत्र बुझाउने, मूल गेटमा धर्ना दिने, तालाबन्दी गर्नेलगायतका चरणबद्ध आन्दोलन गरेपनि प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर रिले अनसन बस्नुपरेको दाबी गरेका छन् ।
आन्दोलन लामो समयसम्म चलेपछि कलेजबाट इन्टर्नमा खटिएका चिकित्सकले समेत शुल्क फिर्ता नभए काम नगर्ने चेतावनी दिँदै आएका छन् । यता कलेज प्रशासनले भने मुलुकभरका १८ वटा मेडिकल कलेजको समस्या भएकाले माथिल्लो निकायबाटै समाधान खोजिनुपर्ने जनाउँदै आएको छैन ।
युनिभर्सल मेडिकल कलेज भैरहवाका प्रबन्धक कमल ढकालले आफूहरुले विद्यार्थीलाई आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको तर नमानेको बताए । विद्यार्थीको आन्दोलन शुक्रवार १६ औं दिनमा पुगेको छ । कात्तिक १४ गतेदेखि विद्यार्थी चरणबद्ध आन्दोलनमा छन् ।
सरकारले बीडीएसका लागि १९ लाख ३२ हजार र एमबीबीएसका लागि ४२ लाख ५० हजार शुल्क निर्धारण गरेपनि मेडिकल कलेजहरुले त्यसबाहेक अतिरिक्त रकम उठाउँदै आएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त मेडिकल कलेजले विश्वविद्यालयले निर्धारण गरेकै शुल्क लिएको दाबी गर्दै आएको छ ।
विद्यार्थीहरुलाई इन्टर्न्सिप गराउँदा लाग्ने खर्चका लागि कलेजले अतिरिक्त रकम उठाउने गरेको मेडिकल प्रशासनले जनाएको छ । गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजका विद्यार्थी समेत अतिरिक्त रकम फिर्ता माग्दै आन्दोलमा छन् । आन्दोलनका कारण वार्षिक परीक्षा स्थगित भएको छ ।