दक्षिण कोरियामा सुँगुरको रगतले खोला रक्ताम्मे |
काठमाडौं । दक्षिण कोरियास्थित योनचेन शहरको एक खोलामा रगत मिसिएपछि रक्ताम्मे भएको छ ।सिओल र उत्तर कोरिया सिमानाबीचका स्थानीयले यो हप्ताको शुरुमै खोला रक्ताम्मे भएको जानकारी गराएका थिए। खोलामा रगत भने सुंगुरको मिसिएको थियो ।
उक्त क्षेत्रमा ४७ हजार सुँगुरलाई विस्थापित गर्नका लागि ट्रकमा राखिएको थियो । ती मारिएका सुँगुरलाई विस्थापित गर्ने कन्टेनरहरु नभएपछि केही दिन अघि देखि त्यही राखिएको थियो ।
गत आइतबार पानी परेपछि उक्त ट्रकबाट रगत बगेर खोलामा मिसिएको हो । करिब १६ किलोमिटर पर रहेको ईमजिन खोलाको पानी उत्तरी सिओलका स्थानीयले खाने गरेका छन्। खोलामा रगत मिसिएपछि पानी दुषित संक्रमित हुने अनुमान गरिएको न्यु योर्क टाईम्सले जनाएको छ ।
अफ्रिकी स्वाईन फ्लुको रोग फैलनबाट रोक्नका लागि काउन्टीका अधिकारीले सुँगुरलाई विस्थापित गर्न निर्देशन दिएका थिए । अहिले त्यो समस्याको हल भइसकेको छ ।
बुधबार दक्षिण कोरियाले रगतलाई रोकी स्थानीयको पानी खाने मुहान सम्म पुग्नबाट बचाएको छ । काउन्टीले कुल १ लाख ६० हजार सुँगुर विस्थापित गर्न निर्देशन दिएको थियो ।