आगामी वैशाखबाट युरो ६ मापदण्डको इन्धन |
काठमाडौं । आगामी वैशाखबाट नेपालमा वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन आउने भएको छ ।इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि त्यही प्रकारको इन्धन ल्याउन लागेको आयल निगमले जानकारी दिएको छ ।
नेपालले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याउँछ । निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको छ ।
वैशाखदेखि भने सर्वसाधारणले समेत प्रयोग गर्न पाउने गरी ल्याउन लागेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
युरो ६ मापदण्ड इन्धन ल्याएपछि विस्तारै युरो ४ मापदण्ड इन्धन विस्थापित गर्दै लगिने उनले बताए ।निगमका अनुसार हाल प्रयोगमा आइरहेको युरो ४ मापदण्डको इन्धनमा सल्फूरिक एसिड ५० पिपिए छ। युरो ६ मा १० पिपिएमात्रै हुन्छ । यसले वातावरण प्रदूषण कम गराउँछ ।
हालको भन्दा गुणस्तरीय इन्धन आएपछि मूल्य पनि बढ्न सक्ने निगमले जनाएको छ । अहिले पेट्रोल १ सय ७ र डिजेल ९५ प्रतिलिटर छ ।