नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क ४३५ प्रतिशतले बढ्यो, तीन महिनाको नाफा २० करोड ४४ लाख |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स व्यवसाय विस्तारमा यस वर्ष थप आक्रमक देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले थप ५८ हजार ६५ वटा बीमा लेख जारी गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा २० करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २० करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीले बीमा शुल्क आर्जन ४३.९ प्रतिशलते बढाएको छ ।
व्यवसाय विस्तारमा आक्रमक देखिएको नेपाल लाइफले पहिलो त्रैमासिक अवधिसम्ममा ७ अर्ब ८१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिसम्ममा यस्तो आर्जन ५ अर्ब ४३ करोड रुपैयाँ थियो ।
बीमा शुल्क आर्जनसँगै कम्पनीले तीन महिनाको अवधिमा एक अर्ब ६७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको पहिलो त्रैमासिक अवधिमा दुई अर्ब ५९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले यस अवधिमा ८७ करोड ९९ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन् ।
कम्पनीले बीमितहरुलाई प्रदान गर्ने कर्जा ५४ प्रतिशतले बढाएको छ । तीन महिनाको अवधिसम्ममा बीमालेख धितो कर्जा मात्रै १४ अर्ब ६६ करोड रुपैयाँ प्रवाह गरेको छ । पछिल्लो समय बीमा कम्पनीहरुले बीमितहरुलाई घरजग्गामा लगानी गर्नका लागि पनि कर्जा प्रवाह गर्न थालेका छन् ।
त्यस्तै दीर्घकालिन लगानी ६.३१ प्रतिशतले बढाएर ४० अर्ब ६७ करोड रुपैयाँ प्रवाह गरेको छ । दिर्घकालिन लगानी तथा अन्य कर्जा प्रवाह गरेर एक अर्ब ४० करोड रुपैयाँ व्याज आम्दानी गरेको छ । बीमितलाई प्रवाह गरेको कर्जाबाट भने ३८ करोड ६४ लाख रुपैयाँ व्याज आम्दानी गरेको हो ।
हाल कम्पनीमा कायम रहेको बीमा लेख संख्या १२ लाख ३९ हजार छ । त्यस्तै गत वर्ष ११ लाख ८१ हजार थियो । यस नाफा अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ ।
एक्चुरी मूल्याङ्कन पछि कम्पनीको नाफामा उल्लेख्य बृद्धि हुने गरेको पाइन्छ । जसले गर्दा अपरिष्कृत वित्तीय विवरण भन्दा लेखापरिक्षण पछिको नाफा बढ्ने र वितरण योग्य लाभांस बढ्ने गरेको छ ।