कालापानीमा भारतले बलमिच्याइँ गरेको छ ː परराष्ट्रमन्त्री ज्ञवाली |

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताए । उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’
अहिले भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ भएको भन्दै मन्त्री ज्ञवालीले भने, ‘त्यसलाई हामीले अस्वीकार्य भनेका छौं ।’
विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।
अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।