एनएमबी बैंकको शेयरले बढ्यो कारोबार |

काठमाडौं । साताको अन्तिम दिन पनि सूचक घट्ने क्रम रोकिएन । सातामा १४.२ अंकले घटेको छ । मर्जरको प्रक्रियाले छ महिनादेखि कारोबार रोक्का रहेको एनएमबी बैंकको कारोबारले समग्र कारोबारमै टेवा पुर्याएको छ । बिहीबार ३७ करोड ४१ लाख रुपैयाँको कारोबार हुँदा एनएमबी बैंकको मात्रै ११ करोड २६ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।
नेप्से सूचक ६.०५ अंकले घटेर ११३१.९६ मा रोकिएको छ । व्यापार, निर्जीवन र म्युचुअल फण्डको सूचकमा सामान्य सुधारदेखिए पनि बाँकी सूचक घटेका छन् ।
एनएमबीपछि सबैभन्दा धेरै प्रभु बैंकको ५ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको शेयर बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ ।
पछिल्ला दिनमा कम्पनीको शेयर लगातार बढिरहेको छ । कम्पनीको शेयर मूल्य अहिलेसम्मकै अधिकतम ७९५ रुपैयाँ पुगेको छ ।
कुल बजार पुँजीकरण १४ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ । सूचकमा आएको गिरावटसँगै शेयरधनीहरुले अर्बौ रुपैयाँ गुमाइरहेका छन्।