आलमविरूद्ध ३२ वर्ष सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता, आज थुनछेक बहस |
काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले बमकाण्डका प्रमुख आरोपी मोहम्मद अफताब आलमसहित १० जनाविरूद्ध जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको छ ।
आलमसहित दस जनालाई विभिन्न तीन वटा कसूरमा अलग अलग सजाय र एक जनालाई मतियार कायम गरी सोमबार अदालतमा अभियोग पत्र दर्ता गरेको हो ।
स्रेस्तेदार गुणराज पराजुलीका अनुसार आलमसहित १० जनालाई विस्फोटक पदार्थ ऐन २०१८, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानमुद्दामा सजाय माग गरिएको छ ।
उनीहरूलाई विभिन्न तीन कसूरमा ३२ वर्ष सजाय माग गर्दै अभियोग पत्र दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । पराजुलीका अनुसार विस्फोटक पदार्थमा २ वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (बीस वर्ष) र ज्यान मार्ने उद्योगमा दस वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ ।
अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ ।
अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर जिउँदै जलाई मारेको उल्लेख रहेको पराजुलीले बताए ।
यो कसूरमा पीडितलाई न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग दाबी पनि गरिएको छ । रौतहट बमकाण्डको कसूरमा आलमसहित शेख भदई, मोबिन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन् भन्ने शेख मलकार, गौरीशंकर साह र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ ।
पीडक प्रतिवादीमध्ये कांग्रेस सांसद अफताब पक्राउ छन्। अन्य फरार प्रतिवादीलाई पक्राउ पूर्जी जारी गर्न माग गरिएको पराजुलीले बताए ।
समय अभावका कारण सोमबार थुनछेक बहस शुरू हुन सकेन । मंगलबार अदालत खुलेलगत्तै बहस शुरू हुने पराजुलीले बताए ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको साबिक राजपुर गाविस–४ फरहदवामा बम बिस्फोट गराएको र त्यसक्रममा केहीलाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोप कांग्रेस सांसद आलमसहितका व्यक्तिमाथि छ ।
आलमका काका शेख इद्रिसको गोठमा चैत २७ गते साँझ साढे ६ बजे बम विस्फोट भएको थियो। विस्फोटमा परी गोठमा भएका केही व्यक्तिको मृत्यु र झन्डै दुई दर्जन घाइते भएको आशंका थियो। मृतक र घाइतेलाई नजिकैको इँटाभट्टाको भुंग्रोमा हालेर जलाइएको आरोप आलममाथि लागेको थियो ।
त्यहाँ भएका कति मान्छेलाई जलाइयो र कति गायब पारिए, यकिन नभएकाले अभियोग पत्रमा दर्जन बढी उल्लेख गरिएको छ ।
रौतहट बम काण्डमा रुक्सना खातुन र श्रीनारायणसिंह राजपुतले आलमसहितका व्यक्तिमाथि किटानी जाहेरी दिएका थिए। तिनै जाहेरी अस्तित्वमा रहेकाले रौतहट क्षेत्र नम्बर–२ बाट निर्वा्चित सांसद आलम घटना भएको १२ वर्षपछि गत असोजमा पक्राउ परेका थिए ।
रुक्सनाका २२ वर्षीय छोरा ओसी अख्तर र नारायणसिंहका २४ वर्षीय छोरा त्रिलोकप्रताप सिंह राजपुतलाई इँटाभट्टामा लगेर जलाएको अभियोग आलमसहितका व्यक्तिमाथि छ ।
केही प्रत्यक्षदर्शी र पीडकसमेतको बयान संलग्न गराई प्रहरीले दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा जलाएर मारिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो ।