माथिल्लो त्रिशुली–१ मा जुट्यो वैदेशिक लगानी, आज सम्झौता हुँदै |
काठमाडौं । देशकै आकर्षक जलविद्युत् आयोजनामध्येको माथिल्लो त्रिशुली–१ का लागि ठूलो प्रत्यक्ष वैदेशिक लगानी नेपालमा भित्रिएको छ । नेपालमा भित्रिन लागेको ४५ करोड ३० लाख अमेरिकी डलर अर्थात् लगभग ५१ अर्ब १८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीमा आज हस्ताक्षर हुन लागेको हो ।
२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ मा लगानीका लागि ८ वटा दातृ निकाय र आयोजना प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीबीच समझदारी हुन लागेको हो । आयोजना निर्माणका लागि स्थापना गरिएको कम्पनीमार्फत ती लगानीकर्ता नेपाल भित्रन लागेका हुन् ।
उक्त आयोजनामा करिया साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डायलिम इन्डस्ट्रियल कम्पनी लिमिटेडको १६ प्रतिशत, केरयोङ कन्स्ट्रक्सन इन्डस्ट्रियल कम्पनी लिमिटेडको १० प्रतिशत, आईएफसीको १२ प्रतिशत र स्थानीयको १० प्रतिशत सेयर रहने गरी आयोजनाको प्रवद्र्धक कम्पनी नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन प्रालि स्थापना गरिएको हो ।
आयोजना निर्माणका लागि ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सरकारले निर्माण अवधिसहित ३५ वर्षका लागि उक्त कम्पनीलाई निर्माण, सञ्चालन र हस्तान्तरण९बुट० मोडलमा आयाजना जिम्मा दिएको हो । अर्थमन्त्री डा युवराज खतिवडा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितीमा हुन लागेको सम्झौताअनुसार ३१ मार्ग २०२४ सम्ममा आयोजनाले व्यावसायिक उत्पादन थालिसक्नुपर्नेछ ।
आयोजनाबाट उत्पाददित विद्युत् प्राधिकरणले डलरमा प्रवद्र्धक कम्पनीसँग सम्झौता गरिसकेको छ । उक्त सम्झौताअनुसार उत्पादन भएको मितिले १० वर्ष वा ऋण नतिरुन्जेलसम्म जुन चाडो हुन्छ सोही मितिसम्म प्राधिकारणले डलरमा भुक्तानी हुनेछ भने त्यसपछि नेपाली मुद्रामा भुक्तानी हुनेछ ।
डलरमा हुने कारोबारको जोखिम न्यूनीकरणका लागि आयोजना प्रवद्र्धक कम्पनी, विद्युत् प्राधिकरण र सरकारले निश्चित प्रतिशत रकम ‘हेजिङ फन्ड’को रुपमा जम्मा गर्नेछन् । अन्तर्राष्ट्रिय बजारका कारण डलरमा आउन सक्ने बृद्धिलाई उक्त फन्डमार्फत सहजीकरण गर्ने तयारी गरिएको छ ।