चुहानडाँडा एयरपोर्टको डीपीआर यसै आर्थिक वर्षमा तयार हुने |
काठमाडौं । चालु आर्थिक वर्ष ०७६∕७७ भित्रै चुहानडाँडा एयरपोर्टको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) र विस्तृत सम्भाब्यता अध्ययन (डीपीआर) को काम सकिने भएको छ ।
‘चालु आवमा प्रारम्भिक तयारीको काम सकिन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने, ‘त्यसपछि निर्माणको काम शुरु हुन्छ ।’
यस वर्ष प्राधिकरणले चुहानडाँडा विमानस्थलको प्रारम्भिक काम सम्पन्न गर्न १ करोड रुपैयाँ बजेट छुट्याएको छ । प्राधिकरणले यसै साता एक सूचना निकाल्दै विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रक्रिया अगाडी बढेको जानकारी दिएको छ । उसले सरोकारवालाबाट सुझाव संकलन पनि थालेको छ ।
ताप्लेजुङ, तेह्रथुम र पाँचथर तीन जिल्लावासी लाभान्वित हुनेगरी यो विमानस्थलको योजना अगाडि बढेको थियो । पटक–पटकको सम्भाब्यता अध्ययनबाट समेत चुहानडाँडास्थित थुम्कीडाँडामा विमानस्थल बन्नसक्ने देखिएको विमानस्थल निर्माण सरोकार समितिका संयोजक तथा प्रदेश सांसद तेजमान कन्दङवाले बताए ।
‘यो विमानस्थल भौगौलिक र व्यवसायिक दुबै हिसावले उपयुक्त देखिएको छ,’ उनले भने, ‘रणनीतिक महत्वको आयोजना भएका कारण पनि अहिले सरकारको प्राथमिकतामा परेको हो ।’
यस स्थानमा विमानस्थल बन्नुपर्छ भनेर स्थानीयले २०३२ सालबाटै आवाज उठाउन थालेको उनी बताउँछन् । तेह्रथुम सदरमुकामबाट ४५ मिनेटको यात्रापछि पुगिने र मध्यपहाडी राजमार्गले समेत छोइसकेका कारण यो विमानस्थल व्यवसायिक रुपमा सफल हुने कन्दङ्वाको विश्वास छ ।
तेह्रथुमको आठराई गाउँपालिकास्थित इवागाउँ प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान हो । यसै गाउँपालिकामा चुहानडाँडा एयरपोर्ट बन्दैछ । यो आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको भावनात्मक सम्बन्ध छ ।
त्यसो त स्थानीयले केपी ओली प्रधानमन्त्री हुनु अगाडी नै उच्च राजनीतिक तहलाई भेटेर विमानस्थलको माग गरिरहेका थिए । प्रदेश सांसद कन्दङवा सुनाउँछन्, ‘हामीले तत्कालिन प्रधानमन्त्री स्व. सुशील कोइरालासमक्ष पनि विमानस्थल माग गर्दै पत्र बुझाएका थियौं, वर्तमान प्रधानमन्त्रीलाई भेटेरै आयोजना मागेका थियौं, यसमा सरकार निकै सकारात्मक छ ।’
प्रधानमन्त्रीको जन्मस्थान भएकाले भन्दा बढी स्थानीयको माग र आवश्यकका आधारमा विमानस्थल बन्ने उनको भनाई छ । यो आयोजनामा प्रधानमन्त्रीको चासोको पुष्टी तत्कालिन पर्यटन मन्त्रीले आफ्नो अन्तिम भाषणमा समेत गरेका थिए । उनले भनेका थिए, ‘अध्ययन गरिसकेर, प्रधानमन्त्रीले अरु होइन, पर्यटनमन्त्री आफै गएर हेरेर आउनुहोस भन्नु भयो, त्यसैले आज हामी स्थलगत अध्ययन गर्न आएका हौं, यहाँ एयरपोर्ट बनाउन उपयुक्त देखिएको छ । यहाँ केही कुराले पनि छेक्दैन । सरकार यो ठाउँमा एयरपोर्ट बनाउन प्रतिवद्ध छ ।
सरकारले यस विमानस्थललाइ दिएको महत्व चालु आर्थिक वर्षका आर्थिक दस्तावेजमा समेत स्पष्ट देखिन्छ । चालु आवको नीति तथा कार्यक्रमको ६७ औं बुँदामा भनिएको छ, ‘तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाब्य स्थानमा विमानस्थल निर्माण गरिनेछ ।’
यता, बजेटको २१९ औं बुँदामा भनिएको छ, ‘गोकुलेश्वर, कमलबजार, स्वर्गद्धारी र चुहानडाँडालगायत स्थानमा विमानस्थल निर्माण कार्य अगाडी बढाइनेछ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समेत यसैसाता विमानस्थल निर्माणस्थलको स्थलगत अवलोकन गरेका छन् ।
कस्तो बन्नेछ विमानस्थल ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यहाँ आन्तरिक उडानका जहाज अवतरण तथा उडान गर्न उपयुक्त प्रकारको विमानस्थल बन्नेछ । धावनमार्ग उत्तर–दक्षिण फैलिने छ ।
धावनमार्गको लम्बाई ५५० मिटर र चौडाई २० मिटर हुनेछ । ३० मिटर लम्बाई र उत्तिकै चौडाईको ट्याक्सी वे बन्नेछ । १३० मिटर लम्बाई र ९० मिटर चौडाईको एप्रोन निर्माण हुनेछ । यसबाहेक विमानस्थल टर्मिनल, स्टाफ क्वार्टरजस्ता संरचनासमेत यहाँ बन्नेछन् । यस विमानस्थलमा सानो क्षमताका ट्वीनअटर जहाज उड्नेछन् ।