मुग्लिन–पोखरा सडक चार लेनको बन्ने, एडीबीद्वारा २२ अर्ब ऋण स्वीकृत |
काठमाडौं । मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारका लागि एसियाली विकास बैंकले २२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । बैंकले उक्त सडक खण्ड फराकिलो बनाउने र मर्मतका ऋण स्वीकृत गरेको जानकारी गराएको छ ।
सन् २०२५ सम्म निर्माण सम्पन्न हुने लक्ष्य लिइएको यो आयोजनामा पोखरादेखि आबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड चार लेनमा विस्तार गरिने छ ।
सरकारले पनि साढे ५ अर्ब लगानी गर्ने यो सडकको बाँकी ८ किलोमिटर खण्डमा पनि मर्मत हुने बताइएको छ । नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरा काठमाडौंबाट २ सय किलोमिटरको दूरीमा छ । यो खण्डमा दैनिक ७ हजार ४ सय सवारीसाधन हिँड्छन्। अहिले उक्त सडक साँघुरो तथा गुणस्तर कमजोर हुँदा राम्रो यातायात नभएको गुनासो छ ।
विस्तारित सडकमा सुरक्षाका फिचर्स, चेतावनी लाइट सिस्टम जडान हुने एसियाली बिकास बैंकले जानकारी गराएको छ । सहरी क्षेत्रमा सडकमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि विशेष पूर्वाधार बनाइने बैंकले प्रेस विज्ञप्ति मार्फत् जानकारी गराएको छ ।
यो आयोजना सम्पन्न भएपछि दुई ठूला सहरबीचको अविच्छिन्न यातायातमात्र नभइ यसले आर्थिक गतिविधि पनि बढाउने बैंकको विश्वास छ ।
त्यस्तै यसले आन्तरिक बजारमा पहुँच बढाउनुका साथै रोजगारी र सामाजिक सेवामा पनि पहुँच बिस्तार गर्ने छ । आन्तरिक बजारसँगै यसले अन्तर्राष्ट्रिय बजारको पनि फराकिलो गेटवे बन्ने छ । विशेषगरी भारतीय पर्यटकका लागि पोखरा सहज गन्तव्य बन्ने छ ।