तिहारसँग सम्बन्धित यस्ता छन् पौराणिक कथा |
पौराणिक बली राजाको कथा वामन अवतारसँग सम्बन्धित छ । बली राजा भक्त प्रह्लादका नाती हुन् । बली राजा धेरै दानी भएका कारण उनमा दानको घमण्ड बढ्न थालेको थियो । त्यो घमण्ड तोड्नकै लागि विष्णुले वामन अवतार लिए । त्यसपछि उनी बली राजासँग दान माग्न गए ।
बली राजाले पनि वामन (विष्णु)लाई तिमीलाई के चाहियो भने । वामन पुड्को देखिन्थे । वामनले मैले मागेको दिन सक्छौ भनी बली राजालाई प्रश्न गरे । बली राजाले यसो हेरे, एउटा पुड्के बाहुनले के नै माग्ला र भन्ने सोचे । उनले भने, ‘म त बली राजा पो हुँ, जे माग्छौ माग ।’ उनको घमण्ड सुनेर वामनले भने, ‘मेरो तीन पाइलाले जति ओगट्छ त्यति देऊ ।’ बली राजाले हुन्छ भने । त्यसपछि वामनले एक पाइला पृथ्वीमा राखे । अर्को पाइला आकाशमा राखे । अब तेस्रो पाइला राख्ने पालो आयो । पाइला राख्ने ठाउँ नभएपछि वामनले बली राजालाई सोधे, ‘तेस्रो पाइला कहाँ राखौं ?’
वामनको प्रश्नले अकमकिएका बली राजासँग सहज उत्तर भएन र वचन पूरा गर्न आफ्नो शिरमा पाइला राख्न दिनुप¥यो । मानवता, धर्म र कल्याणका लागि त्याग एवम् निष्ठापूर्वक दिइने दानको अवमूल्यन गर्दै दानमा अहङ्कार भएका बली राजालाई वामनको तेस्रो पाइलाको जोडले पाताल पुर्याइदियो ।
मागेको कुरा बली राजाले पूरा गरेपछि वामनले पनि वरदान दिनुपर्ने भयो । त्यसपछि वामनले के माग्छौ त बली राजा भनेर सोधे । लगत्तै बली राजाले वर्षको ५ दिन धर्तीमा राज्य गर्न पाऊँ भने । वामन अवतारबाट वरदान पाएपछि बली राजाले वर्षको ५ दिन आफूअनुकूल राज्य गर्न पाए ।
बली राजाले ५ दिन उल्लासपूर्वक रमाइलो गर्दै बिताउन र निर्धक्कसाथ जुवातास खेल्न छूट दिए । यसै कारण उनको पालादेखि नै तिहारलाई ५ दिनसम्म रमाइलो गरी दीपावली गर्दै मनाउने परम्परा रहेको किम्वदन्ती छ । यो ५ दिन बली राजाको नियमकानून लाग्ने भएकाले जुवातासमा छूट पाउने र राज्यको कानून नलाग्ने जनश्रुति रहेको छ ।
यमराज र यमुनाको कथा
सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी ५ दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’भन्दा यमुनाले हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदीभाइ, दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् ।
यमराजले पनि तथास्तु भन्दै मन, वचन, कर्म र शुद्धचित्तले यस प्रकारसँग भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फैलने वर दिए । हरेक वर्ष कात्तिक द्वितीयाका दिन आफ्नी बहिनीलाई भेट्न यमराज जाने भएकाले यो दिन भाइको पूजा गर्दा दीर्घजीवी हुने विश्वास छ । यसैले भाइटीका परापूर्वकालदेखि नै मनाउँदै आएको बुझिन्छ ।