सफा घरमा नै लक्ष्मीको वास, कसरी गर्ने तिहारको साजसज्जा ? |
नेपालीको घरआँगनमा तिहार शुरू भइ सकेको छ । यो पर्वमा घर सफा गर्ने हाम्रो परम्परा नै छ । तपाईं पनि तिहार धुमधामसँग मनाउने तयारी गर्दै हुनुहुन्छ भने सोहीअनुसार घर तथा वरपरको सरसफाइमा पनि निकै ध्यान दिनुपर्ने हुन्छ । सफासुग्घर घरमा नै माता लक्ष्मीको वास हुने धार्मिक मान्यता रहिआएको छ । तर, केही मानिस तिहारका बेला गर्नुपर्ने सफाइका कारण तनावमा हुन्छन् । यसैलाई दृष्टिगत गरी तिहारमा सजिलोसँग सरसफाइ गर्ने उपाय यहाँ प्रस्तुत गरिएको छ, जुन तपाईंका लागि धेरै उपयोगी हुन सक्छ ː
१. आफ्नो दराज तथा कपडा केही दिनअघि नै व्यवस्थित गर्नुपर्छ, जसले पर्वका दिनमा कपडा खोज्न सजिलो हुन्छ ।
२. किचेनका फोहोर भाँडा (पानी राख्ने बोतल तथा प्लाष्टिकका भाँडा) आधा बाल्टिन तातो पानीमा ५÷६ चम्चा ब्लिच तथा डिटर्जेण्ट पाउडर मिसाइएको झोलमा आधा घण्टाजति डुबाएर राख्नुपर्छ । त्यसपछि यसलाई राम्रोसँग मिचेर सफा गर्नुपर्छ ।
३. चाँदीका भाडा तथा गहना सफा गर्न थोरै पानी उमालेर त्यसमा आल्मुनियमको धूलो, थोरै सोडा तथा कपडा धुने साबुन मिसाउनुहोस् । त्यसमा चाँदीका भाँडा केही बेर डुबाउनुहोस् । त्यसपछि त्यहाँबाट भाँडा निकालेर सफा गर्नुहोस् ।
४. घरको भित्ता सफाइका साथै आवश्यकताअनुसार पेण्ट्स पनि गर्नुहोस् । साथै, घरमा लगाइएका पर्दा पुराना भएका छन् भने नयाँ बदल्नुहोस् ।
५. सुनका गरगहना टमाटरको पेष्टले सफा गर्नुहोस् ।
६. घरमा फर्निचरको सफाइ साबुनपानीले नै गर्न सकिन्छ ।