तिहार ː रङरोगन र बत्तीको उज्यालो पर्व |

नेपालमा ठूला चाडपर्व शुरू भएसँगै घर सजावट गर्ने क्रम पनि बढ्दै गएको छ । पर्वका बेला विशेषगरी घरको भित्री र बाहिरी भाग सजावट गर्ने कार्य विशेष प्राथमिकतामा परेको पाइन्छ । अहिले मानिसले घरकोठाको रङरोगन तथा सजावटलाई झनै महत्व दिन थालेका छन् । ‘झिलिमिली बत्तीको चाड’ भनेर चिनिने तिहार तथा छठ पर्व नजिकिँदै गर्दा घर सजावटप्रति आकर्षण बढेको देखिन्छ ।
तुलनात्मक रूपमा चाडपर्वको समयमा घरको सफाइदेखि सजावटमा बढी ध्यान दिइने हाम्रो संस्कार पनि छ । घरमा नयाँपन ल्याउने चाहना सबैमा हुन्छ । घरको रौनक बढाउने कार्यमा लाइटले मुख्य भूमिका निर्वाह गर्छ । त्यसैले, यो समयमा विभिन्न किसिमका पेण्ट्स तथा लाइट्स विक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । चाडवर्पमा घरमा आफन्तहरू आउने हुँदा पारिवारिक वातावरण उल्लासमय बनाउन पनि मानिसले विविध डिजाइनका लाइट खरीद गर्छन् ।
तिहारमा घरभित्र सजावट

तिहार नजिक आइरहेका बेला घर कसरी फरक ढङ्गले सजाउने भनेर सोच्न थालेका छन् । घर सजाउन धेरै पैसा खर्च गर्नैपर्छ भन्ने छैन । तर, यसका लागि सजावटबारे ज्ञान हुनु भने आवश्यक छ । घर राम्रो देखाउन धेरै परिवर्तन गरी खर्च बढाउनु पनि राम्रो होइन । तिहारमा कसरी घर सजाउने भन्नेबारे केही सुझाव प्रस्तुत गरिएको छ । यसले घरको रङ, फर्निचर, सुत्ने कोठा, भान्सा कोठालगायतको सजावटमा सहयोग पुर्याउनेछ ।
- चाडपर्वका बेला कोठामा दुई÷तीन प्रकारका रङको प्रयोग गर्नुपर्छ । कोठामा सुन्तला, नीलो तथा हरियो रङको प्रयोगले रौनक ल्याउँछ ।
- भित्ताको पूरै रङ फेर्दा झण्झटिलो हुनुका साथै खर्च र समयसमेत धेरै लाग्छ । यसको विकल्पमा तपाईं पिनको सहायताले सफ्ट बोर्डमा चहकिलो तथा आकर्षक कपडा टाँस्न सक्नुहुन्छ । यसले भित्ताको अनाकर्षक वा फोहोर भाग छोप्नुका साथै आकर्षकसमेत देखाउँछ ।
- कोठामा नरम कुसन, चकटी, तकिया, डस्ना, कार्पेटलगायतको प्रयोग पनि गर्न सकिन्छ । यसले तपाईंको कोठालाई छुट्टै सौन्दर्य प्रदान गर्छ ।
- चाडपर्वको छनक ल्याउन तथा स्वागत गर्न आफ्नो वासस्थानमा चहकिलो रङसहितको सजावटका सामग्रीको प्रयोग गर्न सकिन्छ । यसका लागि जरीजडित आफ्ना पुराना साडी तथा अन्य कपडाको प्रयोग गर्न सकिन्छ । यसबाट तपाईं आफ्नो सोफाका कुसनलगायतको खोलको निर्माण गरी सजावटका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
- चाडपर्व सुहाउँदो रूपमा आफ्ना कोठाका सजावट सामग्रीको व्यवस्थापन गर्न सकिन्छ । रङ्गीन कप, प्लेट, तथा अन्य सामग्री पनि खरीद गर्न सक्नुहुन्छ । मध्या≈न तथा साँझको समयमा ताजा फूल तथा मधुरो प्रकाश दिने (टी–लाइट)को प्रयोग गर्न सकिन्छ ।
- सजावटका क्रममा एकै प्रकारका रङको प्रयोग गर्नुभन्दा विभिन्न रङको मिश्रण गर्न सकिन्छ । रङको सृजनशील प्रयोगले थप रौनक थप्न सकिन्छ ।
घरबाहिरको सजावट

पहिले मानिसहरू घरको भित्री भाग सजावटका लागि पैसा खर्च गर्थे । बाहिरी भागमा खासै चासो दिँदैनथे । तर, अहिले मानिसको रुचिमा परिवर्तन आएको छ । घरभित्रका साथै बाहिरी भाग पनि उत्तिकै महत्वपूर्ण छ भन्ने महसूस थालेको छ । घर सजावटमा पनि मानिसले दिल खोलेर पैसा खर्च गर्न थालेका छन् । घरबाहिरको सजावटका लागि बगैंचा तथा त्यसमा राखिएका सामग्रीले विशेष सहयोग पुर्याउँछ । बगैंचामा राखिने विभिन्न सामग्रीमध्ये लाइट पनि एक हो ।
घरको आँगन तथा बगैंचामा राखिएका लाइटले घरमा अलौकिक सुन्दरता थप्छ । इलेक्ट्रिक, सोलार, ग्यास तथा ‘नन पावर्ड लाइट’ गरी चार प्रकारका लाइट बजारमा उपलब्ध हुन्छन् । यी सबैका फरक विशेषता तथा फाइदा छन् । यीमध्ये सोलार सबभन्दा सजिलो तथा उपयोगी हुन्छ । घामबाट चल्ने हुँदा यसले पैसा पनि बचत गर्छ । सोलार गार्डेन लाइटमा सोलार ल्याम्प, स्टीललेस लाइट, कपर सोलार लाइट, सोलार प्याटिबो लाइट, सोलार पाथवे लाइट, सोलार वाल माउट लाइट तथा सोलार स्पट लाइटलगायत पर्छन् ।
तिहारका लागि फूल
तिहारमा रोटी, मिठाई र देउसी–भैलोको जत्ति महत्व छ, त्यति नै महत्व फूलमालाको पनि देखिन्छ । त्यसैले, कतिपयले दाजुभाइका लागि माला गाँस्न पनि थालिसकेका छन् । तिहारमा खासगरी मखमली, गोदावरी एवम् सयपत्री फूलको माला बनाउने परम्परा रहेको छ । मखमली फूललाई नेपाली फूल मानिन्छ । यसलाइ सुपारी फूल पनि भनिन्छ । कहिल्यै नओइलाउने हुँदा भाइटीकामा यसको विशेष महत्व छ ।
दाजुभाइको दीर्घायुका लागि यो फूलको माला गाँसेर गलामा लगाइदिने चलन परापूर्वकालदेखि चलिआएको छ । त्यस्तै महत्व भएको गोदावरी फूल विभिन्न रङमा फुल्छ । पहँेलो, रातो, सेतो र बैजनीजस्ता विविध रङमा पाइने यस फूलको प्रयोगले सुन्दरता थप्ने काम गर्छ । यस फूललाई घरको भित्री भागको सजावटमा प्रयोग गर्दा आकर्षक देखिन्छ । त्यस्तै, सरलताको प्रतीक मानिने सयपत्री फूलले तिहारमा विशेष स्थान पाउने गरेको छ ।
नेपालमा अमेरिकन तथा फ्रेञ्च गरी दुई प्रकारका सयपत्री फूल पाइन्छन् । सयपत्री फूलले एशियाली देशमा विशेष महत्व पाउने गर्छ । त्यसमा पनि हिन्दू नेपालीको दोस्रो ठूलो पर्व तिहारमा यसको महत्वपूर्ण स्थान छ ।