सावधानी अपनाउँदै तिहार यसरी मनाऔं |
तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागीको सम्भावना पनि हुन्छ । विगतका वर्षमा तिहारको समयमा आगलागीका धेरै घटना भएका छन् । बत्तीको प्रयोग सबैभन्दा बढी हुनाले तिहारमा आगलागी धेरै हुने गरेको छ । आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले, आप्mनो नियन्त्रणमा रहने गरी नै बत्तीको प्रयोग गर्नुपर्छ ।
काठमाडौंलगायत शहरी क्षेत्रमा आगलागी हुने ग्यास र विद्युत् मुख्य दुई कारण छन् । ग्यासका कारण ६० प्रतिशत तथा विद्युत् ‘शट’का कारण ४० प्रतिशत आगलागीका घटना हुने जुद्ध वारुण यन्त्रले जानकारी दिएको छ । तिहारमा यी दुवै वस्तुको बढी प्रयोग गरिन्छ । त्यसैले, आगलागीको सम्भावना धेरै हुने गरेको छ । त्यस्तै, आगलागीको अर्को कारण यस विषयमा मानिसमा चेतनाको कमी पनि हो । अहिले घर तथा कार्यालयमा पनि आगो निभाउने उपकरण राख्ने प्रचलन बढ्दै गएकाले पहिलाको तुलनामा यस्ता दुर्घटना कम हुने गरेको देखिएको छ ।
दुर्घटना हुने कारण
तिहारमा ‘धनकी देवी’ लक्ष्मी भिर्याउने धार्मिक विश्वाससँगै घर सफा सुग्घर गर्ने, फूलमालाले सजाउने र दियो बाल्ने चलन छ । घर फोहोर भए वा उज्यालो नभए लक्ष्मीले वास नगर्ने भन्ने मान्यताअनुसार तिहारका बेला घर सजाउने तथा घरवरपर उज्यालो बनाउन दियो बाल्ने गरिन्छ । यसका लागि मानिसले माटोका परम्परागत पाला तथा मैनबतीका साथै इलेक्ट्रिक दियो पनि बाल्ने गर्छन् । तर, चाडपर्वका बेला यस्ता सामग्रीको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।
- तिहारमा घरवरपर दियो बाल्ने परम्परा छ । चारैतिर दियो बाल्दा आगो लाग्ने सम्भावना बढ्छ । साथै, लक्ष्मी पूजा गर्दा दियो र कपडा चढाउने गरिन्छ । दियो र कपडा एकै ठाउँमा हुने हुँदा पनि आगो सल्कने सम्भावना हुन्छ ।
- तिहारमा सबैका घरमा इलेक्ट्रिक लाइट बालिन्छ । साथै, घरमा भएका सबै इक्लट्रोनिक्स सामग्री (फ्रिज, माइक्रोओभन, टेलिभिजन, राइसकुकर) पनि एकैपटक प्रयोग गर्ने गरिन्छ । यसरी सबै इलेक्ट्रिक सामग्री प्रयोगमा ल्याउँदा ओभरलोड भई विद्युत् शट हुने सम्भावना हुन्छ ।
- डेकोरेटिभ लाइट पनि शट हुने अर्को कारण हो । यस्तो लाइटमा मसिनो तारको प्रयोग गरिएको हुन्छ । यस्तो लाइट धेरैजसो घरबाहिर झुन्ड्याइन्छ । यसरी जथाभावी प्रयोग गर्दा शट हुने सम्भावना हुन्छ ।
- आगलागी हुने अर्को प्रमुख कारण ग्यास हो । काठमाडौंलगायत शहरमा घरको छत (भान्साभन्दा बाहिर खुला ठाउँ)मा चुलो बनाउने गरिन्छ । यसरी बाहिर चुलो बनाउँदा ग्यास लिक भएर तथा हावाले आगो बत्ताएर पनि आगो लाग्ने गर्छ । यसैगरी, परिकार बनाउँदा तेलको प्रयोग बढी हुन्छ । पर्वको रमझममा धेरै मानिसको काममा ध्यान पुग्दैन । त्यसैले, कहिलेकाहीँ तेल धेरै तातेर आगो बल्ने, तेल पोखिने, तेल उछिट्टिएर शरीरमा पर्नेजस्ता दुर्घटना हुन्छन् ।
सावधानीका उपाय
- दीपावली गरेपछि घरको एक व्यक्तिले दियो व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ । दियो ननिभ्ने बेलासम्म त्यसमा ध्यान दिइरहनुपर्छ । लामो समयसम्म दियो बाल्नुहुँदैन । लक्ष्मी पूजा गर्दा एकजना व्यक्तिले अनिवार्य रूपमा दियोको रेखदेख गर्नुपर्छ ।
- घरमा आवश्यकभन्दा बढी इलेक्ट्रिक लाइट एकैपटक बाल्नुहुँदैन । मुख्य–मुख्य लाइटको मात्रै प्रयाग गर्नुपर्छ । सकेसम्म एकसाथ सबै इलेक्ट्रोनिक्स सामग्रीको प्रयोग गर्नुहुँदैन ।
- घरबाहिर सुरक्षित स्थानमा मात्र चूलो बनाउनुपर्छ । तेलमा परिकार बनाउँदा होशियारी अपनाउनुपर्छ ।
- तेलको कराईमा आगो बलेमा पानी हाल्नुहुँदैन । पानी राख्दा आगो झन् बल्छ । त्यसैले, कुनै सामग्रीले कराईलाई ढाक्नुपर्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभ्छ ।
- तेल पोखिएर वा उछिट्टिएर शरीरमा आगो लागेमा डराएर दौडनु हुँदैन । दौडँदा अक्सिजन धेरै प्राप्त हुनाले आगो झन् बल्ने सम्भावना हुन्छ । त्यसैले, यथास्थानमा नै उभिनुपर्छ । सकेसम्म बाक्लो कपडा वा बोराले शरीर छोपिदिनुपर्छ । भुइँमा पल्टनु पनि उचित हुन्छ । यसो गर्दा अक्सिजन कम हुन गई आगो निभाउन सकिन्छ ।
- आगलागी भइहालेमा आत्तिनुहुँदैन । सानो आगो बल्दा पनि आत्तिएर होश गुमाउनाले झन् ठूलो दुर्घटना हुन सक्छ । त्यसैले, सुरक्षित स्थानमा बसेर साहस जुटाउनुपर्छ । सकेसम्म आफैले आगो निभाउने प्रयास गर्ने, नसक्ने अवस्थामा अरूको सहयोग लिने । यस्तै साना प्रयासले पनि ठूलो क्षति हुनबाट जोगिन सकिन्छ ।