नेपालमा गाँजाखेती गर्न यो ‘राइट टाइम’ हो |
क्या. पवन जोशी
अध्यक्ष, कम्प्लिट सप्लायर्स प्रालि
जहिल्यै नौलो काम गर्न रूचाउने क्याप्टेन पवन जोशीले पछिल्लो समय अर्को नयाँ काम गर्ने तयारी गरेका छन् । उनले नेपालमा पहिलो पटक व्यावसायिक रूपमा गाँजाखेती गरी औषधि उत्पादन गरेर विदेश निर्यात गर्ने आँट गरेका छन् । गाँजाजन्य उत्पादनबाट नेपालले खर्बौं रुपैयाँ आर्जन गर्न सक्ने तथ्यांकसहितको दाबी गर्ने क्या. जोशी नेपाली जनताको जीवनस्तरमा छिट्टो सुधार ल्याउन र वर्षेनि चुलिँदै गएको व्यापारघाटालाई न्यून गर्ने यो व्यवसाय एक मात्र अचुक उपाय हुन सक्ने बताउँछन् । तत्कालीन शाही नेपाल वायुसेवा निगममा १८÷१९ वर्षको जागिरे जीवनमा झण्डै १२ हजार घण्टा आकाशमा उडेका जोशीले क्यानाडा र टेक्सासबाट पाइलट शिक्षा हासिल गरेका हुन् । स्वास्थ्यले साथ दिन छोडेपछि व्यापार व्यवसायमा छिरेका उनले काठमाडौंको ज्ञानेश्वरमा ‘९९ पसल’, नक्सालमा ‘नो क्यास मोटरसाइकल’ (पैसा नै नतिरी किन्न पाइने मोटरसाइकल शोरुम) र अन्य धेरै व्यवसायको अनुभव हासिल गरिसकेका छन् । हाल उनी हाइड्रोपावरको टर्बाइन उत्पादक कम्पनीहरूको नेपालका लागि एजेन्टसमेत बनेका छन् । उनको कम्पनीले विभिन्न हाड्रोपावर प्रोजेक्टहरूलाई विभिन्न कम्पनीका टर्बाइनहरू सप्लाइ गरिसकेको छ । डब्लूकेभी कम्पनीको एजेन्ट रहेको हाइड्रो निड्स प्रालिका अध्यक्षसमेत रहेका जोशीको अर्को कम्पनी कम्प्लिट सप्लायर्सले नेपालमा पहिलोपटक अमेरिकन टेक्नोलोजीमा बैंककमा बनेको इलाइट फायरको एजेन्ट बनेर बल आकारमा इलाइट फायर विक्रीवितरण गरिरहेको छ ।
हाल उक्त कम्पनीले दाबा हिमालयन पियोर हेम्प ओइल, इण्डियन ग्यास कम्पनीको एजेन्ट (१ मेगावाटसम्मको टर्बाइन), क्ल्याप भल्भ (नहरहरूमा प्रयोग हुने सकेट) को एजेन्ट पनि रहेको छ । अर्को कुरा, ताइवानको इलोक्ट्रोनिक बसका लागि पनि एजेन्ट बन्ने तयारीमा सो कम्पनी रहेको छ । पछिल्लो समय क्या. जोशीले शुरुवाती लगानी झण्डै १० अर्ब रुपैयाँमा गाँजा खेती गरी त्यसबाट औषधि उत्पादन गर्ने लक्ष्य लिएर नेपालगन्जमा त्यसको प्लान्टसमेत स्थापना गरिसकेका छन् । हाल उक्त प्लान्टबाट गाँजाबाट उत्पादन गरिएको दाबा ब्राण्डमा सीबीडी तेल र हेम्प ओइल उत्पादन भइरहेको छ । सरकारबाट सहयोग पाएर ठूलो भोल्युममा यो व्यवसाय गर्ने हो भने नेपालबाट रोजगारीका लागि विदेशिने नेपाली युवाहरुको संख्या ८० प्रतिशत रोक्न सकिने उनको दाबी छ । प्रस्तुत छ, गाँजाजन्य उद्योग र गाँजाखेती गर्न अनुमतिका लागि सरकारसँग लबिङ गरिरहेका उनै क्या. पवन जोशीसँग आर्थिक पाटीले नेपालमा गाँजाबारेमा कानुनी अवस्था, व्यावसायिक गाँजा खेती र यसबाट नेपालले पाउने फाइदाबारेमा गरेको कुराकानीः
ठूलो लगानी गर्दै हुनुन्छ भन्ने सुनिन्छ, खासमा के हो ? कुन क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ ?
तपाईंले ठीक कुरा गर्नुभयो । हो, अहिले हामीले आयुर्वेदिक औषधि क्षेत्रमा लगानी गर्दै छौं । नेपालमा गाँजा खेतीका लागि हामीले लगानी गर्ने तयारी गरेका हौं । त्यसका लागि हामीले ‘गाँजाको खेती धनको वर्षा’ शीर्षकको एउटा किताब पनि प्रकाशित गरिसकेका छौं । साथै, व्यावसायिक गाँजा खेतीका लागि हामीले लगानीकर्ता पनि भेटिसकेका छौं । हामीले गर्ने गाँजाखेती औषधि उत्पादनका लागि मात्र हुनेछ । त्यसका लागि सरकारले वातावरण बनाइदिए हामीले चाँडै नै उद्योग र यसको खेती शुरू गर्नेछौं । साथै, हामीले उत्पादन गरेको गाँजा विदेश निर्यातका लागि मात्र हो । विश्व बजारलाई दृष्टिगत गरेर निर्यात गर्नकै लागि यस्तो योजना ल्याएका हौं । साथै, उत्पादन भएका औषधि भने डाक्टरहरूको प्रेसक्रिप्सनका आधारमा, तोकिएको मापदण्डमा रहेर स्वदेशमै पनि विक्रीवितरण गर्न सक्छौं । औषधि उत्पादनका लागि हामीले कम्पनी दर्ता गरी नेपालगन्जमा प्लान्ट पनि स्थापना गरिसकेका छौं । उक्त प्लान्टले गाँजाबाट उत्पादन गरिएका दाबा ब्राण्डमा २ प्रकार औषधि पनि उत्पादन गरेर बजारमा ल्याइसकेको छ । अब गाँजाखेतीका लागि सरकारले अनुमति दिए ग्रिनहाउस नै स्थापना गरेर तुरन्तै आगामी सिजनदेखि खेती शुरू गने लक्ष्य राखेका छौं । त्यसका लागि सरकारले हामीलाई १ लाख हेक्टर जमिन गाँजाखेतीका लागि तोकिदिनुपर्छ । शायद अनुमति पनि चाँडै नै दिन्छ भन्ने हाम्रो अपेक्षा छ । त्यसका लागि हामीले सम्बन्धित निकायसँग प्रक्रियाका बारेमा, गाँजा कहाँ, कसरी, कति क्षेत्रमा, कसरी उत्पादन गर्ने भन्नेबारेमा कुरा पनि भइरहेको छ । यसरी काम अगाडि बढाइयो भने उत्पादित गाँजाको दुरुपयोग हुने कुरा पनि भएन ।
नेपालको कानुनले गाँजालाई अवैध मानेको छ । यस्तो अवस्थामा तपाईं त अझ गाँजा खेती नै पो गर्ने कुरा गर्दै हुनुन्छ । के सरकारी अनुमति पाउँछु भन्ने लाग्छ ?
ठीक प्रश्न गर्नुभयो । नेपालमा कानुनले गाँजालाई अवैध मानेको छ । दुरुपयोग गर्नेलाई मात्र अवैधानिक मानेको छ । तर, औषधिका लागि, औषधिजन्य उत्पादनका लागि सरकारबाट अनुमति लिएर यसको व्यावसायिक खेती वा औषधि उत्पादन गर्न नेपालको कुनै पनि कानुनले बन्देज गरेको छैन ।
नेपालको अर्थतन्त्रमै झण्डै ४०/५० प्रतिशतको हाराहारीमा योगदान गर्ने यस्तो योजनाका लागि १० अर्ब, २० अर्ब रुपैयाँ ठूलो बजेट होइन, यस क्षेत्रमा त अब खर्बको हाराहारीमा लगानी गर्नुपर्छ । अब यसका लागि राज्यले सोच्नुपर्ने बेला आइसकेको छ ।
एउटा कुरा म के भन्छु भने, आजको दिनमा विश्वका विकसित राष्ट्रहरूले समेत धेरै अगाडिदेखि नै गाँजा खेतीका लागि कानुनी मान्यता दिइसकेका छन् । यूरोप, अमेरिका, पछिल्लो समय लण्डनले पनि गाँजाखेतीलाई प्राथमिकतामा ल्याएको छ । एशियन मुलुक मलेशिया र इण्डोनेशियामा पनि व्यावसायिक गाँजाखेतीका लागि सरकारले वैधानिकता प्रदान गरिसकेको अवस्था छ । आजको दिनमा विश्वमा जति पनि गाँजा उत्पादन भएको छ, त्यसमा सबैभन्दा बढी निर्यात गर्नेमा चीन नै रहेको छ । यो खेती लागि सिंगो एक व्यक्तिले गर्ने कुरा पनि होइन । एउटा समूह बनाएर मात्र गर्दा राम्रो हुन्छ । जस्तो अहिले सिंगो अमेरिकामा जम्मा ३ सयवटा मात्र गाँजाखेतीका फार्म रहेका छन् । यो जसले चाह्यो उसैलाई खेती गर्न दिने कुरा पनि होइन । समूहगत रुपमा कम्तिमा पनि ५÷१० हजार हेक्टर जमिन लिएर खेती गर्ने समूहलाई मात्र अनुमति दिइनु उपयुक्त हुन्छ । जस्तो अहिले क्यानाडामा युवाहरूले समूह गठन गरेर कम्तिमा ३ हजार हेक्टर जमिनमा गाँजा खेती गर्ने गरेका छन् ।
नेपालमा गाँजालाई अवैधानिक मानिन्छ । यस्तो अवस्थामा तपाईं कम्पनी दर्ता गरिसकेको बताउनुहुन्छ । अब गाँजाखेती गर्न पाइएन अथवा सरकारले कम्पनी नै बन्द गर भन्यो भने तपाईं के गर्नुहुन्छ ?
गाँजाखेती भनेको यस्तो चीज हो, जसले देशकै अर्थतन्त्रलाई धान्न सक्छ । आजको दिनमा यसलाई सही तरिकाले खेती गरेर निर्यात गर्न सक्ने हो भने हाम्रो देशले प्राप्त गर्ने कुल राजस्वमध्ये ४० प्रतिशत यसले धान्छ । मैले धेरै देशहरूले गाँजा खेतीलाई किन र कसरी वैधानिकता प्रदान गरेका छन् भनेर अध्ययन गरेरै नेपालमा यो कम्पनी स्थापना गरेको हुँ । जस्तो बैंकक, अमेरिकालगायत देशमा गाँजाखेती गर्ने व्यक्ति र क्लबहरू अझै पनि मेरो सम्पर्कमै रहेका छन् । हामीले नेपालमा उत्पादन गरेको गाँजाले बजार नपाऊला कि भन्ने चिन्ता पनि छैन । किनभने अहिले विश्वमा गाँजाको ठूलो माग छ । गाँजाको विश्व मागमध्ये ५ प्रतिशत मात्र निर्यात गर्न सके एक वर्षमै नेपालको अर्थतन्त्रमा कायापलट आउँछ । नेपालमा पनि गाँजाखेती गर्ने भनेपछि उनीहरू पनि यहाँ गाँजाखेतीका लागि लगानी गर्न तयार छन् । गाँजा भनेको यस्तो चीज हो, यसले र यसको खेतीले कुनै पनि चीजलाई बिगार्ने काम गर्दैन ।
तपाईंले ग्रिन हाउस स्थापना गरेर गाँजा खेती गर्ने कुरा गर्नुभयो। तर, यसरी उत्पादन गर्दाचाहिँ यसको दुरुपयोग हुँदैन भन्ने के ग्यारेन्टी ?
यसको खेती गर्दा दुरुपयोग हुँदै हुँदैन भनेर ग्यारेन्टी नै त गर्न सकिन्न । हामीले ग्रिन हाउस स्थापना गरेर यसको व्यावसायिक खेती गर्ने हो भने ०.५ देखि १ प्रतिशतसम्म मात्र यसको दुरुपयोग हुन सक्छ । हामीले अनुमान गरेको पनि यत्ति नै हो । हामीले यसको खेती गर्दा हाम्रो प्रोजेक्टमा जति जनाले काम गर्छन्, ती सबै व्यक्ति फार्महाउसबाट बाहिरिने बेलामा हरेक पटक चेकजाँच हुन्छ । दुरुपयोग नहोस् भनेर सरकारी र कम्पनीका मान्छे राख्न पनि सकिन्छ । अर्को कुरा, हामीले उत्पादन गर्ने गाँजा नेपालका गल्लीगल्लीमा हुर्किइरहेका खालको गाँजा पनि होइन । नेपालमा भएका गाँजा धुम्रपानका लागि मात्र हो भने हामीले उत्पादन गर्ने गाँजा धुम्रपानका लागि नभई औषधि उत्पादनका लागि मात्र हो, धुम्रपान गर्न मिल्दैन । हामीले उत्पादन गर्ने जति पनि औषधि हुन्छ, त्यो नेपाललाई चाहिएको जति नेपाल सरकारलाई बेच्छौं र बाँकी सबै विदेश नै निर्यात गर्छौं । आजको दिनमा विश्वलाई ठूलो परिमाण गाँजाको आवश्यकता छ । पछिल्लो समय गाँजाबाट विभिन्न फ्लेबरमा विभिन्न औषधिदेखि साबुन, कपडा, स्याम्पुलगायतका उत्पदानहरू बजारमा आएको अवस्था छ ।
अहिले तपाईंको उद्योगले कुनकुन औषधि उत्पादन गरिरहेको छ ?
अहिले हामीले स्थापना गरेका हिमालयन हेम्प ओयल प्रालिले दाबा ब्राण्डमा विभिन्न औषधिहरू बजारमा ल्याएको छ । हिमालयन हेम्प ओयलले दाबा ब्राण्डमा विभिन्न औषधि उत्पादन गरिरहेको छ । तर, हेम्प ओयल पनि दुई खालका हुन्छन् । रिफाइन्ड र नन रिफाइन्ड । रिफाइन्डमा विभिन्न प्रकारका फ्लेबर राखिएकाले खान सजिलो हुन्छ । अहिले विश्वमा यति ठूलो गाँजा खेती, यति ठूलो यसको माग छ कि, चीनले हेम्प वाटर, हेम्प साबुन, हेम्प स्याम्पु, क्यान्सरको औषधिलगायतका विभिन्न उतपादनहरू विश्व बजारमा ल्याइसकेको अवस्था छ । आजको दिनमा अमेरिकाले चीनसँग मात्र १६ अर्ब डलरबराबरको गाँजाजन्य उत्पादन आयात गरिरहेको तथ्यांकले देखाएको छ । भौगोलिकता र तापक्रमका हिसाबले नेपाल गाँजाखेतीका लागि एकदमै उर्बर भूमि छ । हाम्रो उच्च हिमाली क्षेत्रदेखि समतल तराई क्षेत्रसम्मै गाँजा खेती गर्न सकिने उर्बर भूमि छ । यस्तो अवस्थामा त्यत्तिकै खेर गइरहेको जमिनमा गाँजाखेती गरेर चीनको जस्तै गरी निर्यात गर्ने हो भने नेपालीको जीवनस्तर १÷२ वर्षको अन्तरालमै परिवर्तन ल्याउन सकिन्छ ।
तपाईंको कम्पनीका उत्पादनको लक्षित बजार कहाँ हो ?
तत्कालका लागि त हामीले उत्पादन गरेका औषधिहरू स्वदेशमै विक्रीवितरण गरिरहेका छौं । तर, सरकारले लचिलो कानुन बनाइदियो र ठूलो भोल्यूममा उत्पादन गर्न पायौं भने हाम्रो बजार भनेको विदेश नै हो । भोलिको दिनमा ठूलो भोल्युममा राम्रोसँगले उत्पादन गर्न पाउने हो भने विश्व बजारमा जसले राम्रो मूल्य दिन्छ उसैलाई विक्री गर्न सकिन्छ । आजको दिनमा सबैभन्दा बढी गाँजाको माग यूरोप, अमेरिका र क्यानाडामा नै छ, शायद हाम्रो बजार पनि त्यतै हुन सक्छ । हामीले नेपालको औषधि उत्पादक संस्था वा कम्पनीलाई पनि सरकारको अनुमति लिएर विक्रीवितरण गर्न जस्तो । जस्तो वैद्यखानालाई दिन सक्छौं । त्यसपछिको बजार भनेको यूरोप, अमेरिका, क्यानाडा नै हो ।
यस्तो खालको कम्पनी स्थापना भएको शायद नेपालमा पहिलो पटक नै हो । यो कम्पनी दर्ता गर्ने बेलामा कत्तिको समस्या झेल्नुपर्यो ?
नेपालमा त्यो पनि अवैध मानिएको गाँजाजन्य औषधिको उत्पादक कम्पनी दर्ता गर्न गाह्रो त भई नै हाल्छ । तर, म एउटा कुरा के भन्छु भने नेपालमा गाँजाखेती गर्न पाइँदैन भनिन्छ, त्यो गलत हो । नेपालको कानुनमा गाँजाखेती गर्न पाइँदैन भनेर कहीँ पनि लेखेकै छैन । व्यावसायिक रूपमा, सरकारबाट अनुमति लिएर औषधिजन्य उत्पादनका लागि गाँजाको खेती गर्छु भन्दा कानुनले कुनै पनि हरफमा बन्देज गरेकै छैन ।
नेपालमा कानुनले गाँजालाई अवैध मानेको छ । दुरुपयोग गर्नेलाई मात्र अवैधानिक मानेको छ । तर, औषधिका लागि, औषधिजन्य उत्पादनका लागि सरकारबाट अनुमति लिएर यसको व्यावसायिक खेती वा औषधि उत्पादन गर्न नेपालको कुनै पनि कानुनले बन्देज गरेको छैन ।
यो अवस्थामा सरकारबाट कस्तो आशा गर्नुभएको छ ?
सरकारसँग कुनै आशा म राख्दिनँ । खासमा भन्नुपर्दा म आशामा बाँच्ने मान्छे पनि होइन । कर्म गरेर बाँच्ने मान्छे हुँ । तर पनि सरकार र नेपाली जनतालाई म के भन्न चाहन्छु भने अहिले वैदेशिक बजारमा गाँजाको एकदमै ठूलो माग छ । त्यसो भएकाले पनि नेपालमा गाँजाखेती गर्न अहिले एकदमै राइट टाइम छ । यो अवसरलाई नेपालले सदुपयोग गर्दै गाँजा खेती गर्ने हो भने यसबाटै अहिले जुन संख्यामा युवाहरू विदेशिइरहेको अवस्था छ, ती सबै युवाहरूलाई नेपालमै रोजगारी दिन र निर्यातबाट ठूलो धनराशि हासिल गर्न सक्ने अवसर छ । यसलाई कानुनी मान्यता दिएर ठूला योजनाहरू कार्यान्वयनमा ल्याउने हो भने विदेशिन बाध्य नेपाली युवाहरूलाई गाउँगाउँमा रोजगारी दिन सकिन्छ, र विदेशी डलर पनि स्वदेशमै बसीबसी आर्जन सकिन्छ । सरकारले राम्ररी सोच्ने हो भने यसबाट नेपाल र नेपालीलाई गरिबीबाट उन्मुक्ति दिन सकिने यो अचुक उपाय हुन सक्छ ।
यहाँले गाँजाखेती त भन्नुभयो । तपाईंले खेती गर्ने गाँजा अहिले नेपालका कान्लाकुन्लीमा उम्रिने गाँजा नै हो कि कस्तो हो ?
नेपालमा हुने गरेको गाँजा त हाइब्रिड टाइपको गाँजा हो । यसबाट कुनै पनि औषधि उत्पादन गर्न मिल्दैन । हामीले उत्पादन गर्ने भनेको गाँजा अर्कै खालको हो । नेपालमा भएको गाँजा त धुम्रपानका लागि मात्र हो, जुन चुरोट वा बिँडीको रूपमा पिइन्छ, नसा लाग्छ सकियो । तर हामीले उत्पादन गर्ने गाँजा अर्कै खालको हो । त्यस्तो गाँजाको बिउ पनि हामीले विदेशबाटै आयात गरेर खेती गर्नुपर्छ र त्यो हामीले रोपेको गाँजा धुम्रपान गर्ने खालको होइन । यसरी विदेशबाट ल्याई यहाँ रोपेर, तयार गरेर यसको बोटलाई उमालेर पकाएर यसबाट रस निकालेर विदेश निर्यात गर्ने हो । अनि बाँकी रहेको लेदोबाट विभिन्न किसिमका वस्तु उत्पादन गर्न सकिन्छ । जस्तो स्याम्पु, साबुन, कपडा । नेपालमा अहिले जुन गाँजा गल्लीगल्लीमा हुर्किरहेको छ, त्यो त सिर्फ यहाँका गाँजापारखीले तान्ने नशालु गाँजा मात्र हो, यसको औषधि उत्पादन हामीले गर्दैनौं ।
यो योजनाका लागि यहाँहरूले लगानी कति गर्ने लक्ष्य राख्नुभएको छ ?
हामीले सरकारले अनुभति दिएको खण्डमा शुरुमा करिब १० अर्ब रुपैयाँ लगानी गर्ने योजना बनाएका छौं । तयसपछि क्रमशः बढाउँदै लाने योजना छ । नेपालको अर्थतन्त्रमै झण्डै ४०÷५० प्रतिशतको हाराहारीमा योगदान गर्ने यस्तो योजनाका लागि १० अर्ब, २० अर्ब रुपैयाँ ठूलो बजेट होइन, यस क्षेत्रमा त अब खर्बको हाराहारीमा लगानी गर्नुपर्छ । अब यसका लागि राज्यले सोच्नुपर्ने बेला आइसकेको छ । गाँजा भनेको आजको दिनमा सुन हो । मैले लेखेको किताबमा पनि गाँजालाई ‘ग्रिन गोल्ड’को उपनाम दिएको छु । आजको दिनमा गाँजा उत्पादन मात्र गर्नुपर्यो, त्यसलाई भनेको समयमा आवश्यक परेको बेला तुरून्तै नगदमा परिणत गर्न सकिन्छ, जस्तो अहिले बजारमा सुनलाई नगदको रूपमा मान्यता दिइन्छ ।