प्रधानमन्त्रीले गरे नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास, ४२ महिनाभित्रमा सम्पन्न हुने |

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास गरेका छन् । सोमबार चन्द्रागिरी नगरपालिका वडा नम्बर १ टोटीटोलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सुरूङमार्गको शिलान्यास गरेका हुन् ।
धादिङको सिस्नेखोलाबाट शुरू हुने सुरूङमार्ग टोटीटोलमा आइपुग्छ । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा ५.५६ किलोमिटर सुरूङमार्ग बन्न लागेको हो ।
आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार जापानीज कम्पनीले आयोजना निर्माणको जिम्मा लिएको छ । ४२ महिनाभित्र आयोजना सम्पन्न हुने गरी काम सुरू गरिने उनले बताए। जापान सरकारको १६ अर्ब ऋण सहयोग र नेपालको ६ अर्ब रुपैयाँ लगानीमा सुरूङमार्ग बन्न लागेको हो ।
यो सुरूङमार्ग बनेपछि मोटर गुड्ने पहिलो सुरूङमार्ग बन्ने पनि उनले बताए । शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, खानेपानी मन्त्री बिना मगरलगायतको उपस्थित थिए ।