६ महिनाभित्र डेढ सय मेगावाट बिजुली थप |
काठमाडौं । ०७६ को पहिलो ६ महिनामा करिब १५० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । वैशाखयता विद्युत् प्राधिकरणले बनाइरहेका दुईसहित आधा दर्जन आयोजनाले व्यवसायिक वा परीक्षण उत्पादन थालेका छन् ।
गत आर्थिक वर्षभरिमा ७८ मेगावाट मात्रै बिजुली राष्ट्रिय प्रसारणमा थप भएको थियो । निजी क्षेत्रका आयोजनाहरूबाट ४८ मेगावाट र सरकारीबाट ३० मेगावाट मात्रै बिजुली उत्पादन थालिएको थियो । यो आर्थिक वर्षमा भने ९ सय मेगावाट उत्पादन थपिने नेपाल विद्युत् प्राधिकरणको आकलन छ ।
अहिले कतिपय निजी क्षेत्रका आयोजनामा धमाधम काम भइरहेका छन् । प्राधिकरणको सहायक कम्पनीअन्तर्गत माथिल्लो तामाकोशी आयोजना पनि यसै वर्ष निर्माण सकाउने गरी अन्तिम चरणमा छ ।
यस आर्थिक वर्षको अन्त्यबाट नेपालले ठूलो परिमाणमा बिजुली भारत पठाउन सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । डिसेम्बरसम्ममा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको भन्दै उनले आगामी वर्ष नेपालले बिजुली उत्पादनमा फड्को मार्ने दाबी गरे ।