जन्मभूमिमा लगानी बढाउन एनआरएनलाई राष्ट्रपतिको आह्वान |

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीहरूलाई जन्मभूमिमा लगानी बढाउन आहृवान गरेकी छन् । लगानीका लागि आन्तरिक र बाहृय दुवै ढंगले अनुकूल वातावरण सिर्जना भइसकेको भन्दै उनले लगानीका लागि आह्वान गरेकी हुन् ।
‘नेपाल लगानीका लागि अनुकूल हुँदै गएको छ’, मंगलबार बिहान गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘आन्तरिक र बाहृय वातावरण लगानीका लागि योग्य रहेकाले ढुक्क भएर लगानी गर्नुस् ।’
राजनीतिक अस्थिरताका कारण विगतमा लगानी असुरक्षित भएको तर्फ संकेत गर्दै राष्ट्रपतिले अब त्यस्तो नहुने बताइन् । लगानी सुरक्षाका लागि सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको राष्ट्रपतिको भनाइ छ । ‘तपाईंहरूले आर्जन गरेको ज्ञान, सीप, क्षमता र दक्षतालाई नेपालको विकासमा उपयोग गर्नुपर्दछ’, राष्ट्रपतिले थपिन्, ‘यसका लागि सरकारले संयन्त्र खडा गरिसकेको छ । यसमा म खुशी छु ।’
विदेशिएका नेपालीहरूको हक(हितका लागि स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं अन्तरराष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलनमा ८१ देशबाट २५ सय प्रतिनिधि सहभागी छन् । २ दिनसम्म चल्ने सम्मेलनले नेतृत्व चयनलगायत महत्त्वपूर्ण सांगठनिक निर्णय गर्नेछ । अध्यक्षमा वामपन्थीबाट कुमार पन्त र प्रजातान्त्रिक समूहबाट कुल आचार्य मैदानमा छन् ।