दोहोरो करको समस्या छैन ː अर्थमन्त्री खतिवडा |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सांसदहरुलाई बजेटको आकार र कार्यक्रमका बारेमा जानकारी दिएका छन् । काभ्रेको पनौतिमा रहेको अभियान लघुवित्त वित्तीय संस्थाको उद्घाटन गर्न पुगेका खतिवडाले बजेटका बारेमा सांसदहरु लाई पढाएका हुन्।
स्थानीय पदाधिकारी तथा सांसदले आफुहरु लाखौ जनताबाट निर्वाचित भएर आउँदा जनताको आकांक्षा पुरा गर्न नसकेको भन्दै अर्थमन्त्री समक्ष गुनासो गरेका थिए ।
सांसद गंगाबहादुर तामाङले सरकारले १५ खर्बभन्दा माथिको बजेट ल्याउँदा पनि आफुहरुले विकासका लागि बजेट नपाएको गुनासो गरेका थिए । त्यस्तै स्थानीय प्रतिनिधिहरुले दोहोरो करको मारमा जनाता परेको भन्दै गुनासो गरेका थिए ।
स्थानीय पदाधिकारी र सांसदको कुरा सुनेपछि खतिवडाले केहि समय बजेट पढाएका थिए । उनले भने ‘माननीय सांसदले संघले कति खर्बको बजेट बनाउँछ भनेर सोध्नु भयो । संघको दायित्व पनि मैले बुझाउनु पर्ने भयो ।‘
१५ खर्ब १३ अर्ब रुपैयाँको बजेटमा करिव १० खर्ब संघका अनिवार्य दायित्वमा पर्छन्। विदेशी ऋणको सावा व्याज भुक्तानी गर्नु छ । कर्मचारीहरुको तलब भत्ता सुविधा दिनु पर्छ । पेन्सन पनि बेहोर्नु पर्छ । हामीले यतिधेरै सामाजिक सुरक्षाका व्यवस्था गरेका छौ ती सबै बेहोर्नु पर्छ ।
अर्थमन्त्रीले संवैधानिक निकाय र सेना तथा प्रहरीको खर्च पनि संघिय सरकारले बेहोर्नु पर्ने बताए । ‘यस्तो दायित्व साढे ९ खर्ब जति हुन आउँछ । यो सबै संघले बेहोर्छ । स्थानीय निकायले बेहोर्नु पर्दैन । करिव एक खर्ब बराबरका राष्ट्रिय गौरवका आयोजनामा बजेट छुट्टाइएको छ । यो सबै खर्च संघिय सरकारले बेहोर्नु पर्ने हुन्छ । बाँकी रहेको ५ खर्ब बाँड्ने हो’, उनले भने ।
अघिल्लो वर्ष स्थानीय तहमा गएको ठूलो रकम खर्च नभएको भन्दै उल्टै प्रश्न गरे । उनले भने ’४० प्रतिशत खर्च नभएको अवस्थालाई पनि हामीले हेर्नु पर्छ । खर्च गर्न सक्ने क्षमता, संगठन संरचना पुर्ण भयो भने मात्रै खर्च हुन सक्ला ।’
संघको सरकार पनि कानुनबाटै बाँधिएको भन्दै उनले भने ‘अर्को कानुन नबनुन्जेल राजश्व बाडफाडको अहिलेको जे व्यवस्था छ अर्थमन्त्रीले गर्ने त्यहि हो । उसले आफैले कानुन मिचेर राजश्वको बाडफाडमा कुनै विधि अपनाउन सक्दैन ।‘
संघिय सरकारले थप कर नलगाएको उनले प्रस्टीकरण दिए । कुनै कुनै विषयमा कसले कर उठाउने भन्ने किसिमको विवाद रहे पनि जनताले दोहोरो कर तिर्नु नपरेको उनको तर्क थियो । उनले भने ‘दोहोरो करको अवस्था लगभग अन्त्य भएको छ ।’
घरबहाल करमा कसले कति उठाउने भन्नेमा समस्या देखिएको बताउँदै उनले केही करहरु एउटाले उठाउने र अर्कोलाई नदिने समस्या रहेको बताए । यसका लागि सफ्टवेर बनाएर समाधान गर्ने खतिवडाले बताए ।
लघुवित्तको उद्घाटनमा पुगेका अर्थमन्त्रीले नेपालको गरिवी निवारणको लागि लघुवित्त वित्तीय संस्थाको महत्वपुर्ण योगदान रहेको बताए । गरिवी निवारणको लागि सरकारले गरिव लक्षित कार्यक्रम ल्याउनु पर्ने खतिवडाले बताए ।