काठमाडौंमा ‘थाई फेस्टिबल २०१९’ सम्पन्न, थाई सस्कृति हेर्ने, परिकार खाने र सामान किन्नेको भिड |

काठमाडौं । काठमाडौंमा ‘थाई फेस्टिबल २०१९’ को आयोजना गरिएको छ । गत शनिवार लाजिम्पाटस्थित सांग्रिला होटलमा फेस्टिबल आयोजना गरिएको हो ।
बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म महोत्सव संचालन भएको थियो । महोत्सवमा थाई परिकार तोमयाम सुप, पाड थाई (थाई नुडल्स), कुङ सव पाङ थड (डिप फ्राई प्राउन), प्लानुङ मनाओ (स्टिम फिस) र पापाया सलाद खान दर्शकहरुको भिड थियो । त्यस्तै थाई कपडा, खाद्य , सृङ्गार , निर्माण सामाग्रिलगायत पदर्शनमा राखिएको थियो ।

नेपाल–थाइल्याण्ड कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गरिएको नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्स्कुलले बताए । उनले थाइल्याण्डका विभिन्न परिकार, संस्कृति, उत्पादन र पर्यटनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए ।
दुई देश बिचको सम्बन्ध जनस्तरमा पनि अझ प्रगाढ बनाउन महोत्सव लाई निरन्तरता दिइने बताउदै राजदूत तान्स्कुलले भने, ‘नेपालमा आयोजना हुने यो महोत्सव तेस्रो हो, हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्ने छौं । महोत्सवले थाइल्याण्डमा उत्पादन भएका विभिन्न उत्पादन, त्यहाँको संस्कृति र पर्यटनका बारेमा जानकारी दिएको छ ।’
थाइल्याण्डमा करीव ६० हजार नेपालीले रोजगार तथा व्यवसाय गरिरहेको बताउदै राजदूत तान्स्कुलले भने, ‘थाईल्यान्डसम्म पुग्न नसक्ने नेपालीका लागि यस महोत्सवले विशेष अवसर सिर्जना गरेको छ ।’
छिट्टै थाईल्यान्डमा पनि नेपाली महोत्सवको आयोजना गरीने बताउदै महोत्सवका संयोजक सरोज रन्जितले भने, नेपालमा आयोजना गरीएको महोत्सव भब्यरुपमा सम्पन्न भएको छ । ।’ फेस्टिवलमा ४० भन्दा बढी स्टल रहेको उनले जानकारी दिए ।