विद्युत प्राधिकरणले ५० वटा चार्जिङ स्टेशन बनाउदै |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका मूख्य शहर र राजमार्गमा ५० वटा चार्जिङ स्टेशन राख्ने भएको छ ।प्राधिकरणले असोज ९ गते सार्वजनिक सूचना जारी गर्दै मूख्य सडक तथा राजमार्गमा जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्टका पार्किङ स्थलमा जग्गा बाहेकको सम्पूर्ण लागत प्राधिकरणको हुने गरि ५० वटा चार्जिङ स्टेशन राख्ने छ ।
कुनै कम्पनीले कम्तीमा तीन वटा सवारी साधनलाई चार्जिङको लागि निːशुल्क ठाउँ दिन सक्ने भएमा कात्तिक ९ गते भित्र विद्युत प्राधिकरणमा निवेदन दिन प्राधिकरणले आग्रह गरेको छ ।
चार्जिङ स्टेशन राख्ने र संचालन गर्ने काम भने प्राधिकरण आफैले गर्नेछ । चार्जिङ स्टेशन राखेवापत प्राधिकरणले कम्पनी वा व्यक्तिलाई अरु थप सुविधा भने दिने छैन ।
निवेदन प्राप्त ठाउँको प्राविधिक, आर्थिक, भौगोलिक र अन्य आधारमा सम्भाव्यता अध्ययन गरेर ५० वटा ठाउँमा चार्जिङ स्टेशन राख्ने प्राधिकरणको योजना छ । हरेक प्रदेशमा कम्तीमा २ वटा चार्जिङ स्टेशन राख्ने पनि प्राधिकरणको योजना हो ।
उपत्यका र उपत्यका बाहिर झापा, विराटनगर, जनकपुर, चितवन, बुटवल, पोखरा, नेपालगंज, धनगढी लागयतका ठाउँमा चार्जिङ स्टेशन राख्ने प्राधिकरणको योजना छ ।
चार्जिङ स्टेशनमा पेट्रोल पम्प जस्तो मानिस बसिरहनु पर्दैन । चार्जिङ स्टेशनमा पुगेर गाडि चार्ज गर्नु अघि सवारी धनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ । कति मिनेट सम्म वा कति रुपैयाँ सम्मको चार्ज गर्नेहो त्यसै अनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ । समय वा पैसा बराबरको चार्जिङ पूरा भएपछि उक्त गाडी थप चार्ज हुँदैन । ५० वटै स्टेशनको कन्ट्रोल पनि काठमाडौ बाटै हुने उनले बताए ।
एउटा चार्जिङ स्टेशनको लागत करिब एक करोड रुपैयाँ सम्म पर्ने अनुमान गरिएको छ । निवेदन आएपछि थप अध्ययन गरेर टेण्डर प्रक्रियामा जाने प्राधिकरणको योजना छ । टेण्डर प्रकिया पूरा भएपछि ६ महिना देखि एक वर्षभित्र सबै ५० वटा चार्जिङ स्टेशन राखिसक्ने प्राधिकरणको दावी छ ।