काठमाडौंमा शनिवार ‘थाई फेस्टिबल २०१९’ हुने |

काठमाडौं । काठमाडौंमा ‘थाई फेस्टिबल २०१९’ को आयोजना गरिने भएको छ । लाजिम्पाटस्थित सांग्रिला होटलमा फेस्टिबल आयोजना गरिन लागिएको हो । यही शनिवार बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म महोत्सव संचालन हुनेछ ।
नेपाल–थाइल्याण्ड कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गर्न लागिएको नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्स्कुलले आज काठमाडौंमा आयोजित कार्यक्रममा बताए । उनले थाइल्याण्डका विभिन्न परिकार, संस्कृति, उत्पादन र पर्यटनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए ।

दुई देश बिचको सम्बन्ध जनस्तरमा पनि अझ प्रगाढ बनाउन महोत्सव लाई निरन्तरता दिइने बताउदै राजदूत तान्स्कुलले भने, ‘नेपालमा आयोजना हुने यो महोत्सव तेस्रो हो, हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्ने छौं । महोत्सवमा थाइल्याण्डमा उत्पादन भएका विभिन्न उत्पादन, त्यहाँको संस्कृति र पर्यटनका बारेमा जानकारी पाउन सकिन्छ ।’
थाइल्याण्डमा करीव ६० हजार नेपालीले रोजगार तथा व्यवसाय गरिरहेको बताउदै राजदूत तान्स्कुलले भने, ‘थाईल्यान्डसम्म पुग्न नसक्ने नेपालीका लागि यस महोत्सवले विशेष अवसर सिर्जना गरेको छ ।’
छिट्टै थाईल्यान्डमा पनि नेपाली महोत्सवको आयोजना गरीने बताउदै महोत्सवका संयोजक सरोज रन्जितले भने, नेपालमा आयोजना गरीन लागिएको महोत्सव लाई भब्यरुपमा सफल पार्न सबैलाई उपस्थितिका लागि अनुरोध गर्दछु ।’ फेस्टिवलमा ४० भन्दा बढी स्टल रहने उनले जानकारी दिए ।