कतारस्थित नेपाली दूतावासबाट पुनː श्रम स्वीकृतिको सिफारिस दिन शुरू |

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले पनि पुनः श्रम स्वीकृतिको सिफारिस उपलब्ध गराउने भएको छ । दूतावासले मंगलबार पुनː श्रम स्वीकृतिको सिफारिसबारे सूचना जारी गर्दै निवेदन आहृवान गरेको हो ।
श्रमस्वीकृति लिइ कतारमा कार्यरत भएर विदामा घर गइ पुनः पुरानै रोजगारदाताकोमा आउनेहरुका लागि मात्रै अर्को निर्णय नभएसम्मका लागि दूतावासले पुनː श्रमस्वीकृतिको सिफारिस दिने लागेको हो ।
पुनː श्रम स्वीकृतिका लागि म्याद रहेको नेपाली राहदानी र उक्त राहदानीको पृष्ठ २ र ३ को प्रतिलिपी, घरेलु कामदारका लागि कतार आएको श्रमस्वीकृतिको प्रतिलिपी, निवेदकको कतारी आईडीको प्रतिलिपी माग गरिएको छ ।
यस्तै, कतारको श्रम विभागबाट प्रमाणित भएको करार सम्झौताको सक्कल तथा प्रतिलिपी र रोजगारदाताको कतारी आइडीको प्रतिलिपी पनि आवश्यक हुने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
जुन रोजगारदाताकोमा श्रम स्वीकृति लिएर आएको हो त्यसैकोमा काम गर्नका लागि मात्रै यो पुनः स्वीकृति सिफारिस लागू हुनेछ ।
करार सम्झौताको प्रमाणीकरणसहित सिफारिसको १८५ रियाल रकम लाग्ने दूतावासले जनाएको छ ।