भ्रमण वर्षका लागि सामाजिक संजाललाई अधिकतम प्रयोग, सार्वजनिक भयो आधिकारिक पेज |
काठमाडौं । भ्रमण वर्षको प्रचारप्रसारका लागि सामाजिक सञ्जाललाई उपयोग गर्न फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डिनको आधिकारिक पेज सार्वजनिक गरिएको छ ।
भ्रमण सचिवालयले तयार पारेको आधिकारिक पेजसँगै वेवसाइट समेत बुधबार सार्वजनिक गरिएको हो। सामाजिक सञ्जालमार्फत मुलुकको पर्यटकीय क्षेत्र प्रचार गर्न आधिकारिक पेज खोलिएको भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले जानकारी दिए । वैद्यका अनुसार भ्रमण वर्षको वेवसाइटमा प्राकृतिक, सांस्कृतिक, जीवनशैली समेटिएको छ ।
पर्यटन गतिविधिसँगै पर्यटन व्यवसायी, पर्वतारोही लगायतको अनुभव समेत वेवसाइटमा समेटिएको छ। पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष तयारीका लागि कम समय भएपनि द्रुत गतिमा काम अघि बढाएको दाबी गरे ।
सचिवालयले तयार पारेको अनलाइन साइटमा राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका नेता, विभिन्न व्यक्तित्वको विचार राखेर विश्वभर मुलुकको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरिने मन्त्री भट्टराईले बताए ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले आधिकारिक साइटबाट नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । सचिव अधिकारीले साइटमा सर्वसाधरणले कैद गरेका राम्रा तस्विर, भिडियो छनौंट गरेर प्रकाशन गर्न सचिवालयलाई निर्देशन दिए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, प्रदेश ३ की प्रमुख अनुराधा कोइराला, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पर्यटन व्यवसायी योगेन्द्र शाक्य सहभागी थिए ।