डेंगुका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन ː उपप्रधानमन्त्री यादव |
काठमाडौं । सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।
बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताए । ‘मृत्युदर अत्यन्त न्युन रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने हदमा नरहेको जानकारी दिन चाहन्छु’ उनले भने ।
उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।
डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको भन्दै उनले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।
साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको जानकारी आएको उपप्रधानमन्त्री यादवले संसदमा जानकारी गराए । केही हप्तायता डेंगु संक्रमणको संख्या निकै तल झरेको र विस्तारै विस्तारै नियन्त्रणतर्फ उन्मुख हुँदै गएको उनले जिकिर गरे ।
उपप्रधानमन्त्री यादवले डेंगुको रोकथामका लागि सबै प्रभावित क्षेत्रमा ‘सबैको साथ डेंगुको नाश, हप्ताको एक दिन एक घण्टा हुदैन कुनै कष्ट, सबैको सहभागितामा लामखुट्टे लार्भा नष्ट अभियान सञ्चालन गर्ने बताए । त्यस्तै स्थानीय स्तरसम्म डेंगुबारे विभिन्न जानकारीमूलक पुस्तिका पठाउने र सञ्चार माध्यमबाट पनि प्रचार प्रसार गर्ने पनि उनले जानकारी दिए ।
डेंगु रोग नियन्त्रणका लागि सघन डेंगु रोग नियन्त्रण घरदैलो अभियान सञ्चालन गर्ने भन्दै उनले त्यसका लागि शिक्षा मन्त्रालयसँगको सहकार्यमा विद्यार्थीमार्फत समुदायमा जनचेतना जगाउने बताए । त्यस्तै महिला स्वास्थ्य स्वयंसेविकामार्फत पनि चेतनामुलक कार्यक्रम गर्ने उपप्रधानमन्त्री यादवले बताए ।
काठमाडौंमा डेंगु परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको सेवा अब त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि विस्तार गर्ने उपप्रधानमन्त्री यादवले जानकारी दिए ।
त्यस्तै ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपैयाँ पठाइएको, प्रदेशमा डेंगुलगायतको प्रकोप नियन्त्रणका लागि ६ करोड १७ लाख रुपैयाँ विनियोजन गरी पठाइएको पनि उनले जानकारी दिए । स्थानीय सरकार र प्रदेश सरकारले आफ्नै स्रोतले पनि प्रभावित क्षेत्रमा डेंगु नियन्त्रणको काम गरिरहेको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।