सिंहदरबार भित्र नयाँ संघीय संसद भवन, प्रधानमन्त्रीले गरे शिलान्यास, लागत पाँच अर्ब |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद भवनको शिलान्यास गरेका छन् । आज बुधबार प्रधानमन्त्री ओलीले सो भवनको शिलान्यास गरेका हुन्। सिंहदरबारस्थित पुतली बगैँचा रहेको स्थानमा पाँच अर्ब ३० करोड खर्चिएर भवन निर्माण गर्न लागिएको हो ।
१ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ । दुई मुख्य हलसँगै संघीय संसद सचिवालय, दलका कार्यालय, संसदीय समिति समेत भवनमा रहनेछ ।
हाल नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ ।
संघीय संसद सचिवालय भने सिंहदरबारमा रहेको छ । सिंहदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत सम्भार गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ ।
नयाँ भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सरकारको तयारी छ । भवन निर्माण सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अगाडि बढाएको हो ।