लुक्लाबाट उडेको ६ हेलिकोप्टरको आकस्मिक अवतरण गरियो , ४ वटा काभ्रेको धानखेतमा अवतरण |

काठमाडौँ । लुक्लाबाट काठमाडौं उडान गरेका ६ वटा हेलिकोप्टर मौसम प्रतिकुलका कारण विभिन्न ठाउँमा आकस्मिक अवतरण गर्नु परेको छ ।
मौसम खराबीका कारण भिजिविलिटी कम भएपछि सिम्रिकका दुईवटा, मनाङ, कैलाश, अल्टिच्यूड र एयर डाइनेष्टीको एउटा हेलिकोप्टर सुरक्षित अवतरण गरेको हेलिकोप्टर सोसाइटी नेपालका महासचिव योगराज कँडेलले बताए । उनका अनुसार १३ नर्टिकल माइल अन्तर्गत सिम्रिक, मनाङ र कैलाशको हेलिकोप्टर पाँचखालमा अवतरण गरेको हो भने अल्टिच्यूड र एयर डाइनेष्टीको भने भने २५ नर्टिकल माइलमा रहेको सुर्केमा अवतरण गरिएको हो ।

‘भिजिविलिटी कम भएपछि हेलिकोप्टर सुरक्षित अवतरण गर्ने यो सामान्य र स्वभाविक प्रकृया हो’ कँडेलले भने,’भिजिविलिटीमा सुधार आउनेवित्तिकै हेलिकोप्टरले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।’काभ्रेका एसपी जयराम सापकोटाले चार वटा हेलिकोप्टर धान खेतमा आकस्मिक अवतरण गरिएको जानकारी दिए । ‘जोरपाटी भन्ने स्थानको धान खेतमा आकस्मिक अवतरण भएको जानकारी पाएका छौँ । कुनै पनि क्षति भएको छैन ।
चालकले मौसममा खराबी आएका कारण आकस्मिक अवतरण गरेको जनाएका छन्।’ सापकोटाले भने । एसपी सापकोटाका अनुसार सिम्रिक एयरका दुइवटा, मनाङ र कैलाश एयरका एकरएक हेलिकप्टर अकस्मिक अवतरण गरिएको हो । तस्विरː सरोज बस्नेतको फेसबुकबाट