अण्डाको उत्पादन बढ्यो, खपत बढाउन जनचेतनामूलक कार्यक्रमको खाँचो |
काठमाडौं । अण्डाको उत्पादन लागत बर्सेनि बढिरहेको छ । तर अण्डाको खपत बढाउन सरकारी नीति नहुँदा बजारीकरणमा समस्या देखिंदा उत्पादित अण्डाले बजार नपाएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीको गुनासो छ ।
संघले गरेको अध्ययनले हाल अण्डाको औषत उत्पादन लागत ११ रुपैयाँ २ पैसा छ । उत्पादनको बजारीकरणमा समस्या देखिएपछि संघले बजार व्यवस्थित गर्ने मनसायले हालैमात्र अण्डा (ठूलो) को मूल्य प्रतिगोटा ९ रुपैयाँ तोक्यो । उत्पादन लागतभन्दा कम मूल्य तोक्दा पनि अण्डाले बजार नपाएको गुनासो उत्पादकहरूको छ ।
कृषि क्षेत्रमा नेपालमा सम्भवतः पहिलो आत्मनिर्भर उपज हो अण्डा । स्वास्थ्यको दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिएको अण्डा उत्पादन बर्सेनि बढ्दो क्रममा छ । गत वर्षमात्र मुलुकभर १ अर्ब ५६ करोड गोटा उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा उत्पादन वृद्धिदर ६.१२ प्रतिशत बढी हो । राष्ट्रिय योजना आयोगको आवधिक योजनामा पनि अण्डा उत्पादन वृद्धि गर्ने विषय प्राथमकितामा राखिदै आइएको छ ।
सरकारले अण्डाको प्रयोग बढाउन बिभिन्न प्रचारमूलक कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ । यो विभिन्न खाले पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डारको रुपमा रहेको अण्डाको सेवनले सरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पूराउँछ ।
अण्डामा भिटामिन ए, फोलेट, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के तथा जिंक लगायतका तत्व पनि पाइन्छन् । सरकारी निकाय सेना, प्रहरी तथा स्कुलहरुले दिवा खाजामा अण्डा लाई समाबेस गर्न अध्यक्ष केसीले आग्रह गरे ।