पोखरा विमानस्थल निर्माण कार्य ४७ प्रतिशत सकियो |
काठमाडौं । पोखरा क्षेत्रिय विमानस्थल निर्माण काम ४७ प्रतिशत सम्पन्न भएको छ । साउनसम्मको प्रगति विवरण अनुसार विमानस्थल निर्माण कार्य ४७ प्रतिशत सकिएको विमानस्थलका उपनिर्देशक विनेश मुननकर्मीले जानकारी दिए ।
हाल विमानस्थलमा टर्मिनल विल्डिङको ९० प्रतिशत काम सकिएको बताउँदै उनले भने, ‘टर्मिनल विल्डिङको काम ९० प्रतिशत सकिएको छ । आउँदो डिसेम्बर भित्र भवनको छानो छाउने काम सकिनेछ । टर्मिनल विल्डिङ बाहेक १३ वटा भवन मध्ये १० वटा भवन निर्माण सम्पन्न गर्नेछौँ । वालमा आरसीसी ढलान गरिएको कन्ट्रोल टावरको छैटौँ तल्लाको ढलान सुरु भएको छ । काम तीब्र गतिमा अगाडि बढिरहेको छ ।’ उनले भने । उनका अनुसार विमानस्थलमा माटो भर्ने काम ८५ प्रतिशत सकिसकेको छ ।
विमानस्थल प्रयोजनका लागि आवश्यक उपकरणका लागि चीनमा अर्डर गरिसकेको उनले बताए । आउँदो डिसेम्बर भित्र विमानस्थलमा प्रयोग हुने स्केलेटर, ब्यागेज ह्याण्डलिङ सिस्टम लगायत उपकरण ल्याउने योजना रहेको उनले जानकारी दिए । हालसम्म विमानस्थल निर्माणका लागि छुट्टाइएको छ अर्ब रुपैयाँ मध्ये ३२ प्रतिशत भुक्तानी भइसकेको मुननकर्मीले बताए।योसँगै उडानमा अवरोध गर्ने डाँडा भने दशैंपछि मात्रै कटान गरिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजरउडान अवतरण गर्न कठिन हुन देखिएपछि अर्गौँचोकबाट दक्षिण भागमा रहेको रिठ्ठेपानी डाँडा काट्नुपर्ने भएको हो । प्राधिकरणको प्रविधिक टोलीले विमानस्थलमा जहाज उडानरअवतरण गर्दा चालकलाई मानसिक रुपमा असर पर्ने देखिएपछि डाँडाको २४.७ मिटर उचाई काट्नैपर्ने जनाएको थियो ।