पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको आइपीओ निष्काशन गर्दै, चुक्ता पूँजी १० अर्ब पुग्ने |
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीको हालको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ । प्राथमिक शेयर निष्काशनपछि चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ । प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धक आरबिबी मर्चेन्ट छ ।
कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारणसभाबाट प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । नेपालका बीमा कम्पनी तथा विदेशी बीमा कम्पनीको पुर्नबीमा गर्दै आएको कम्पनीले गत वर्ष एक अर्ब १६ करोड रुपैयाँ नाफा गरेको थियो । अन्तरराष्ट्रिय मान्यता पाउन कम्पनीको न्यूनतम चुक्ता पूँजी १० अर्ब रुपैयाँ हुनु पर्ने भएपछि गत वर्ष कम्पनीले ५ अर्ब रुपैयाँको पूँजीलाई ८ अर्ब ४० करोड रुपैयाँ पुर्याएको थियो । सर्वसाधारणको १६ प्रतिशत हिस्सा पुगेसँगै अन्तर्राष्ट्रिय मान्यता पाउन योग्य हुनेछ ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको शेयर संरचनामा नेपाल सरकारको हिस्सा ४३.५५ प्रतिशतबाट ३६.५८ प्रतिशतमा झर्नेछ भने सर्वसाधारणको १६ प्रतिशत हिस्सा कायम हुनेछ ।