वर्षातमा यस्तो गरौं फेशन |

उखरमाउलो गर्मीपछिको वर्षातले मौसम शीतल बनाउँदा धेरैलाई आनन्दको अनुभूति हुन्छ । यो बेला किसानलाई भ्याइनभ्याइ हुन्छ । वर्षातको पानीले गर्दा नै रोपाइँ हुने भएकाले नेपालजस्तो कृषिप्रधान देशका लागि यो मौसमको महत्व धेरै नै छ ।
यही वर्षातको मौसम भने अफिसमा काम गर्ने कर्मचारी, व्यापारी र अन्य पेशाकर्मीलाई झन्झटिलो हुने गर्छ । कतिपयले ‘कति पानी परेको’ भनेर सार्वजनिक रूपमै अभिव्यक्ति दिन्छन् । तर कृषिप्रधान, त्यसमा पनि वर्षाको पानीमा बढी निर्भरे देशका लागि यो सुहाउँदो कुरा भने होइन ।
आफ्नो पोशाकलाई अप्ठ्यारो भयो भन्दैमा वर्षात्लाई गाली गर्नु अशोभनीय नै मानिन्छ । त्यसैले, वर्षातको बेला कस्ताखाले कपडा, रङ तथा स्टाइलले राम्रो लूक्स दिन्छ भन्नेबारे यहाँ चर्चा गर्न लागेका छौं ।
सुती कपडा

हामी सबैलाई थाहा छ, गर्मी तथा वर्षातमा सुती कपडा अति उत्तम हुन्छ । सुती कपडा झरीमा भिज्दा पनि शरीरमा असजिलो महसूस हुँदैन । साथै, यस्तो कपडा चाँडै सुक्छ ।
जार्जेट∕शिफान

वर्षातमा जार्जेट∕शिफानका कपडा आरामदायी हुनुका साथै तुरुन्तै सुक्छ । यस्तो कपडा आरामदायी पनि हुन्छ । शिफानको टप, कुर्ता वा साडी लगाउन सजिलो हुनुका साथै आकर्षक लूक्स पनि दिन्छ ।
जिन्स

धेरै मानिसहरूमा जिन्स वर्षातका लागि उपयुक्त हुँदैन भन्ने गलत मान्यता रहेको पाइन्छ । वर्षातपछिको हिलोका लागि जिन्स नै तपाईंको सबैभन्दा उपयुक्त साथी हुन सक्छ । सुतीका कपडामा हिलोको छिटा पर्नाले दाग देखिन्छ । तर, जिन्समा त्यस्तो हुँदैन । जिन्सका शर्ट तथा पायण्ट वर्षातका लागि उत्तम हुन्छ ।
राम्रो जुत्ताको प्रयोग

वर्षातमा लगाइने जुत्ता जमीनमा जम्मा भएको पानीले खुट्टा सुरक्षित राख्ने खालको हुनुपर्छ । तर, यस मौसममा छालाका जुत्ताको छनोट गर्नु हुँदैन । तपाईंले छालाका जुत्ता लगाइ रहनु भएको छ भने त्यसलाई पानीबाट जोगाउनुपर्छ ।
शर्ट नै उपयुक्त

यो मौसममा शर्ट लगाउन नै पहिलो प्राथकिता दिनुहोस । यो वर्षातमा आरामदायी हुनुका साथै लगाउन पनि सजिलो हुन्छ । सिन्थेटिक तथा सुती कपडा मिसिएको सर्ट छान्नुपर्छ । त्यस्तै, यो मौसममा उज्यालो रङको शर्टले आकर्षक लूक्स दिन्छ ।
रङहरू
वर्षातको समयमा चम्किला रङका कपडाहरू नै धेरै फेशनमा आउने गर्छन् । फेशनको बजारमा यस्ता रङहरूको विभिन्न प्रयोग हँुदै आएको छ । सडक फेशनमा पनि यस्ता कपडाको माग बढ्दै गएको पाइन्छ । यसको उज्यालोपनले धेरैलाई आकर्षित गरेको हुन्छ ।

पहेँलो ː– पहेँलो रङका कपडा गाढादेखि हलुका रङसम्मका विभिन्न प्रकारमा पाइन्छ । वर्षातमा गाढा चम्किलो रङ छान्नु उपयुक्त हुन्छ । किनकि यस्तो रङका कपडामा दाग छिटो देखिँदैन ।

नीलो ː– वर्षातको समयमा खुलेको आकाश मनमोहक देखिन्छ । यस्तो बेला नीलो रङको कपडा बढी सुहाउँछ । यो गाढा र शीतल रङ पनि हो ।

गुलाबी ː– गाढा गुलाबी रङलाई प्रेमाकर्षक र रोमाण्टिक रङ पनि मानिन्छ । यस्तो रङले वर्षातको मौसममा उत्कृष्ट तथा चम्किलो लूक्स दिन्छ ।

रातो ː– यो रङ सबै रङको राजा मानिन्छ । रातो रङको मात्रै या यसलाई अरू रङसँगै मिलाएर लगाउँदा उत्कृष्ट लूक्स देखिन्छ ।
मौसमका साथ बदलिँदै फेशन
वर्षातको फेशन सडक फेशन बन्दै गएको छ । यसमा हरेक दिनजसो फेशनमा परिवर्तन आइरहेको देख्न सकिन्छ । वर्षातमा लगाउने तथा समुद्रमा रमाइलो गर्दा लगाउने कपडा पनि आजभोलि मानिसको रोजाइमा पर्दै आएको छ । यी सबैखाले टे«ण्डलाई हेर्ने हो भने यो सडक फेशनसँग प्रभावित हुँदै गएको पाइन्छ । युवाहरूमा यस्तो फेशन टे«ण्ड बढ्दै गएको छ । मौसमको परिवर्तनसँगै यसको असर फेशनमा पनि पर्छ । मौसमअनुसार फेशन पनि नयाँ र पृथक् किसिमको आउने गर्छ ।
प्रस्तुति ː मदन लामिछाने