वर्षायाममा स्वास्थ्य तथा घरको हेरचाह |
मानवीय स्वास्थ्यको सीधा सम्बन्ध सरसफाइ सँग हुन्छ । त्यसैले, वर्षाको समयमा शरीरका साथै घरको सरसफाइमा समेत ध्यान पुर्याउनुपर्छ । वर्षामा विभिन्न सङ्क्रामक रोगको खतरा बढी हुन्छ । यस्तो अवस्था सरसफाइमा थोरै लापरबाही गरे पनि ठूलो समस्या पनि उत्पन्न हुन सक्छ । वर्षामा धेरैजसोलाई छालाको एलर्जी, पेट दुख्ने, डायरिया हुने आदि समस्याले सताउँछ । दूषित खानेकुरा, प्रदूषणयुक्त पानीको प्रयोग आदि यसका कारण हुन् । त्यस्तै, फोहोर सामग्रीमा खानेकुरा खाँदा पनि त्यस्तो समस्या देखा पर्न सक्छ । हामी खानेकुरा मात्र सफा राख्नुपर्नेबारे सोच्छौं । तर, खानेकुरा खाने तथा पकाउने भाँडाकुँडा पनि सफा हुन जरुरी छ ।
निम्न कुरामा ध्यान दिऔं
- खानेकुरा स्वच्छ राख्न भाँडाकुँडालाई पनि राम्रोसँग सफा गर्नुपर्छ । खाना पकाउने भाँडा सफा छन् वा छैनन् भन्नेमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्छ । भाँडा सफा नभए त्यसमा कीटाणु बस्न सक्छन् । त्यस्ता भाँडा प्रयोग गर्दा विभिन्न रोगको सम्भावना रहन्छ ।
- चम्चा, चक्कु तथा फोर्कमा पनि कीटाणु हुन सक्छन् । त्यस्तै, दूध राखेर सुकेको गिलासमा रोगका जीवाणु बस्न सक्ने भएकाले प्रयोग गरेलगत्तै भाँडा सफा गरिहाल्नुपर्छ ।
- खाना खाएपछि लामो समयसम्म भाँडा त्यत्तिकै छोड्नुहुँदैन । राति सुत्नुअघि नै भाँडा सफा गर्नुपर्छ । यसो गर्दा त्यसमा कीटाणुको सङ्क्रमण हुन पाउँदैन ।
- भाँडा सफा गर्नुअघि बचेको खाना डस्टबिनमा फाल्नुपर्छ ।
- भाँडा सफा गर्दा स्पञ्ज भन्दा पनि जालीले सफा गर्नु राम्रो मानिन्छ । स्पञ्जमा कीटाणु रहने सम्भावना हुन्छ ।
- भाँडा सफा गरिसकेपछि केमिकलयुक्त सेनिटाइजरमा डुबाउनुपर्छ । साधारण साबुनले सफा गरिएका भाँडाका कीटाणु मरेका हुँदैनन् ।
फनिर्चरको हेरचाह
मनसुनमा काठका फर्निचरको विशेष हेरविचार गनुपर्ने हुन्छ । चिसो हावा तथा पानीले ओसिलो हुने भएकाले यस्ता फनिर्चरमा विभिन्न असर पर्न सक्छ । वर्षामा फर्निचरबाट आवाज आउँछ । त्यसैगरी सोफा ओसिलो हुनुका साथै दराजबाट पनि ओसको गन्ध आउँन सक्छ । त्यसैले, वर्षायाममा दराज यताउता सार्ने गर्नुपर्छ । यस्तो समस्याबाट जोगिन विशेषज्ञको सल्लाह पनि लिन सकिन्छ । मनसुनमा हुन सक्ने समस्याबाट जोगिन वाटरप्रूफ फनिर्चर पनि प्रयोग गर्न सकिन्छ ।
- काठका फर्निचरलाई झ्यालनजिक राख्नुहुँदैन । किनकि, लगातार पानीले भिजेमा फर्निचरको खापा निस्कन सक्छ भने लेमिनेशन पनि उप्कन सक्छ ।
- सोफा तथा कुर्सी सफा गर्न चिसो कपडा प्रयोग गर्नु हुँदैन । त्यसको सट्टा सुक्खा तथा नरम कपडा प्रयोग गर्नुपर्छ ।
- र्याक तथा दराजलाई ढोकाभन्दा पर राख्नुपर्छ ।
- मनसुनमा काठको ढोका जाम हुन सक्छ । त्यसलाई खोल्न तथा बन्द गर्न ढोकामा पित्तलको ह्याण्डल लगाउन सकिन्छ ।
- काठको भुइँ छ भने त्यसमा राम्रोेसँग पालिस गराउनुपर्छ ।
- पानी पर्न कम भएका बेला घरको झ्याल केही बेरका लागि खुला राख्नुपर्छ । यसबाट घरमा हावा प्रवेश भएर ओस कम गर्छ । ओस कम गर्न आफ्नो सामानलाई सिलिकन प्याकेटमा पनि राख्न सकिन्छ ।
- प्रयोगमा गरिरहनु नपर्ने कार्पेट हटाएर त्यसलाई मोडेर राख्नुपर्छ ।
- मनसुनका बेला पुराना काठबाट धूलो झर्ने गर्छ । त्यसबाट छालाको एलर्जीलगायत समस्या उत्पन्न हुन सक्छ । त्यस्तै, दम वा श्वासप्रश्वाससम्बन्धी रोग पनि निम्त्याउन सक्ने भएकाले पानी तथा डिटरजेण्टको सहायताले धमिरा लागेको ठाउँमा रगडेर सफा गर्नुपर्छ ।
- ओस तथा चिसोका कारण फर्निचरमा धमिरा लाग्न सक्ने भएकाले घरका काठजन्य सामग्री नियमित रूपमा सफा गर्नुपर्छ ।