ओली र मोदीद्वारा भोली पेट्रोलियम पाइपलाइनको उद्घाटन हुँदै |
काठमाडौं । भोली मङ्गलबारदेखि पाइपलाइनबाट नियमित रुपमा तेल आउने भएको छ । मङ्गलबार नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले औपचारिक रूपमा पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको अमलेखगञ्ज डिपो प्रमुख प्रदिप यादबले जानकारी दिएकका छन् ।
उनका अनुसार भारत र नेपालका प्रधानमन्त्रीले एकैपटक स्वीच थिचेर उद्घाटन गर्नेछन् भने अमलेखगञ्जमा निगमका कार्यकारी निर्देशकले डब्बा (भाँडो) थापेर उद्घाटन गर्नेछन् ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निवासबाट स्वीच थिचेर डिजल सेन्ड गर्नुहुन्छ’, प्रमुख यादबले भने, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट स्वीच थिचेर रिसिभ गर्नुहुन्छ ।’
कम्प्युटरकै माध्यमले पाइपलाइन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको प्रमुख यादबले जानकारी दिए । उनका अनुसार पेट्रोलियम पाइपलाइनलको क्षमता दैनिक २० घण्टासम्म संचालन हुन सक्नेछ ।
दैनिक रूपमा ३० हजार किलोलिटर तेल पाइपबाट आउँछ । पाइपलाइनबाट तेल आएको दिनदेखि नै बजारमा पठाइने आयल निगमका कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पाइपबाट ल्याइएको तेल शुरूमा प्रमुख शहर काठमाडौं, पोखरा र अमलेखञ्जमा पठाइन्छ । पछि विस्तारै देशभर फैलाइने छ ।
अहिले २५ सय किलोलिटर तेल पाइपमा भरेर राखिएको छख । अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारणका लागि ४ वटा ट्याङ्की राखिएका छन्। ४१ सय किलोलिटर क्षमताका दुई वटा र ३९ सय किलोलिटर क्षमताका दुई वटा ट्याङ्की छन्।
ती ट्याङ्कीमा तेल भरेर राखिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमले जनाएको छ ।
मंगलबारदेखि पाइपलाइनबाट नियमित डिजल आउने भए पनि पेट्रोल आउन भने अझै करिब १ वर्ष लाग्ने यादवले जानकारी दिए ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ९६९.५ किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको हो । नयाँ पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.२५ किलोमिटर पर्दछ । मोतिहारीबाट पटना झन्डै दुई सय किलोमिटर टाढा छ ।
परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड (भारू) अनुदान दिएको छ । नेपाल तर्फबाट ७५ करोड लगानी गर्ने निगमले जानकारी दिएको छ ।