जिम्न्यास्टिक गरेको भाइरल भिडिओले भाग्य चम्क्यो ! |
केही दिनअघि सामाजिक सञ्जालमा भारतको एउटा भिडिओ ’भाइरल’ भएको थियो । स्कुल जाँदै गरेका एक जना बालक र बालिकाले आफ्नो झोला बोकेरै गरेका ’जिम्न्यास्टिक’को भिडिओले धेरैको ध्यान खिच्यो ।
यही भिडिओबाट प्रभावित भएर अहिले यी केटाकेटीलाई भारतको खेलकुद प्राधिकरणले प्रशिक्षार्थीका रूपमा लिएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार ११ वर्षीया जशिका खान र १२ वर्षीय मोहम्मद अजाजुद्दिनको भिडिओ हेरेर जिम्न्यास्टिक खेलाडी नाडिया कोमानेसी प्रभावित भएकी छन् । रोमानियाकी नाडिया ओलम्पिकमा पाँच पटक स्वर्ण पदक विजेता हुन् । उनले भिडिओ सेयर गर्दै बच्चाहरूको तारिफ गरेकी छन् ।
’ती बच्चाहरूका बारेमा नाडियाले तारिफ गर्नुभएको छ । यो खुसीको कुरा हो । दुवैलाई प्राधिकरणमा तालिमका लागि बोलाइएको हो । तर हामीले जबरजस्ती गरेका होइनौं । उनीरहरू सिक्न चाहन्छन्। उनीहरूलाई होस्टलमा अरूलाई जस्तै सुविधा दिएर राखिनेछ र कोलकातामा तालिम दिइनेछ,’ प्राधिकरणका क्षेत्रीय निर्देशक मनमित सिंह गोन्दीको भनाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ’आशा छ, यी कलिला केटाकेटीले सफलता पाउनेछन् ।’
नाडियाले मात्र होइन, जशिका खान र मोहम्मद अजाजुद्दिनको भिडिओ हेरेर खेलकुदमन्त्री किरन रिजिजुले समेत तारिफ गरेका छन् । उनले पनि भिडिओ रिट्विट गर्दै लेखेका छन्, ‘यी केटाकेटीमा खुबी छ । उनीहरूसँग कसैले सम्पर्क गराइदियो भने, उनीहरूलाई जिम्न्यास्टिक एकेडेमीमा सम्पर्क गराइदिने पहल गर्नेछु ।’
खेलकुद प्राधिकरणमा जशिका र मोहम्मदको परीक्षण चलिरहेको बताइएको छ ।