नेपालका बैंकमा गैरआवासीय नेपालीले मुद्दती खाता खोल्न पाउने |

काठमाडौं । विदेशी कम्पनी, व्यक्ति तथा गैरआवासीय नेपालीले अब मुद्दती निक्षेप खाता खोल्न पाउने भएका छन् ।बैङ्किङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएपछि त्यसको जोहो गर्न राष्ट्र बैङ्कले यस्तो व्यवस्था गरेको हो । यसअघि यस्तो सुविधा थिएन । पुँजीको अभाव टार्न यसअघि बैङ्क तथा वित्तीय संस्थाहरुले विदेशी बैङ्कसँग आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो । तर, सो व्यवस्था भने प्रभावकारी देखिएको छैन । अधिकांश बैङ्कले अहिलेसम्म ऋण ल्याउन सकेका छैनन् ।
राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका नाममा १७ बुँदे परिपत्र जारी गर्दै मुद्दती निक्षेप खाता खोल्न पाउने व्यवस्था गरेको हो । यस्तो निक्षेप कम्तीमा दुई वर्ष अवधिको हुनु पर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार खाता डलरका साथै युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन तथा क्यानेडियन डलरमा पनि खोल्न सकिने छ। विदेशी मुद्रामा सङ्कलन गर्ने निक्षेप रकम बैङ्क तथा वित्तीय संस्थाले विदेशी मुद्रामा लिएको ऋणको रकम समेत गरी आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत मात्रै सङ्कलन गर्न पाइने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ।
साथै मुद्दती निक्षेप खाताको ब्याज प्रदान गर्ने प्रयोजनका लागि मात्रै सम्वन्धित मुद्दती निक्षेपकर्ताका नाममा सोही मुद्रामा बचत खातासमेत खोल्न सकिने छ।
गैर आवासीय नेपालीले कम्तीमा १० हजार डलर बराबरको रकम निक्षेप जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैङ्कले गरेको छ। राष्ट्र बैंकका अनुसार विदेशबाट प्राप्त हुने रकम बैङ्किङ प्रणालीबाट मात्रै प्राप्त गर्न सकिने छ।