सबै निक्षेपकर्ताको पैसा सुरक्षित ː राष्ट्र बैंक |
काठमाडौं । चिनियाँ ह्याकरले नेपाली बैंकबाट पैसा झिकेको सार्बजनिक भएपछि बैंकका काउन्टरहरुमा भिडभाड देखिएको छ । एउटा बैंकको कार्ड अर्को बैंकमा नचल्ने भएपछि पनि भिडभाड देखिएको हो ।
राष्ट्र बैंकले भने सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको छ । बैंकहरुको पनि बैंक रहेको राष्ट्र बैंकले कुनै पनि ब्यक्तिको खाताबाट पैसा नझिकिएकोले नआत्तिन आग्रह गरेको छ ।
’सर्वसाधारणको खातामा कुनै समस्या छैन । लुटेराहरु पनि पक्राउ परिसकेका छन् । त्यसैले आत्तिनु पर्ने कारण छैन’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ’राष्ट्र बैंकले सबै कुरा हेरिरहेको छ। त्यसैले केही धन्दा मान्नु पर्दैन ।’
बैंकरहरुले सर्वसाधारण अनावश्यक रुपमा आत्तिँदा काउन्टरमा भिडभाड देखिएको बताएका छन् । अहिले अनलाइन कारोबार राम्रोसँग चलिरहेको छ । र जुन बैंकको कार्ड हो त्यही बैंकको एटीएममा घोट्नलाई कुनै समस्या नरहेको उनीहरुको भनाइ छ ।