मिथिला लघुवित्तको वित्तीय साक्षरता तथा अभिमुखीकरण तालीम सम्पन्न |
धनुषा । धनुषाको ढल्केवर केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुका लागि दुईदिने वित्तीय साक्षरता तथा अभिमुखीकरण तालीम सञ्चालन गरेको छ । यही भदौ ११ र १२ गते दुई दिन सञ्चालन भएको उक्त तालीम लालगढ कुष्ठ रोग अस्पतालको सभाहलमा सञ्चालन भएको हो । तालीममा सबै शाखाबाट प्रतिनिधित्व हुने गरी ३१ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको थियो ।
आफ्ना ग्राहक सदस्यलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले उद्घाटन गरेका हुन् ।
विभागीय प्रमुख रेशमप्रसाद बाँस्तोलाले सञ्चालन गरेको सो तालीममा स्रोत व्यक्तिहरु सत्यदेव राउत, महेशकुमार चौधरी, रेशम प्रसाद बाँस्तोला र रामानन्द यादवले लघुवित्तको परिचय, समूह प्रवेश पूर्व तालीम सञ्चालन, केन्द्र बैठक व्यवस्थापन तथा सञ्चालन, कर्जा प्रवाहलगायत समसामयिक विभिन्न विषयमाथि प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा तीजको उपलक्ष्यमा ग्राहक सदस्यहरुलाई दर खाने ब्यवस्थासमेत गरिएको थियो ।