एनआरएनए नर्बेको कोषको झण्डै ८५ लाख रुपैयाँ हिनामिना |
ओस्लो, (नर्बे) । एनआरएनए नर्बेको कोषमा भएको रकम सोही संस्थाका पदाधिकारीको मिलेमतोमा हिनामिना भएको खुलासा भएको छ । संस्थाका अध्यक्ष सञ्जीव थापा र महासचिव राजु अर्यालले गत आवमा मात्रै झण्डै ८५ लाख रुपैयाँ (७० हजार नर्बेजियन क्रोनर) निकाली हिनामिना गरेको खुलासा भएको हो ।
सो संस्थाको कार्यसमितिका एक सदस्यले नाम नबताउने शर्तमा भने, ‘अध्यक्ष थापा र महासचिव अर्यालले उक्त रकम झिकेर के विषयमा कहाँ कति खर्च गरे भन्ने विषयमा अहिलेसम्म खुलाएका छैनन् ।’ उनले एनआरएनए (नर्बे) मा कोषाध्यक्ष भए पनि कोषको रकम अध्यक्ष र महासचिवले झिकेर मनोमानी तबरले चलाउने गरेको दाबीसमेत गरे ।
साथै, आगामी ३१ अगस्टमा हुने संस्थाको निर्वाचनका लागि एक उम्मेदवारको दर्ता शुल्कसमेत अध्यक्ष थापाको आदेशमा महासचिव अर्यालले कार्यसमितिको निर्णयबिनै फिर्ता दिएको ती पदाधिकारीले बताए । त्यस्तै, सोही निर्वाचनका अर्का उम्मेदवारको दर्ता शुल्क निर्वाचन समितिकै एक सदस्यले तिरिदिएको थाहा भएको छ । संस्थाको निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारीका लागि दर्ता शुल्क उम्मेदवार आफैंले आफ्नै बैंक खाताबाट जम्मा गरेको हुनुपर्छ ।
यी विषयमा छलफल गरी समस्या समाधान गर्न कार्यसमितिका सदस्यहरूले मिटिङ बोलाउन अध्यक्ष र महासचिवलाई अनुरोध गर्दा अध्यक्षले छलफल नगर्ने जवाफ दिएको नाम नबताउने शर्तमा ती सदस्यले जानकारी दिए।